उच्च मुद्रास्फीति र बढ्दाे बेराेजगारीबीच फेडरल रिजर्भद्वारा वर्षको अन्तिम ब्याजदर कटौती
काठमाडाैं ।अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले वर्षको अन्तिमपटक ब्याजदर घटाएको छ।
बुधबार फेडले आफ्नो बेंचमार्क ब्याजदर २५ आधार बिन्दुलेले घटाउँदै ३.५० देखि ३.७५ प्रतिशतको दायरामा ल्याएको हो।
कमजाेर राेजगार बजार र उच्च मुद्रास्फीतिको संकेतसँगै फेडको यो कदम अपेक्षित रहेको थियो।
‘यो वर्ष रोजगार वृद्धि सुस्त भएको छ, र बेरोजगारी दर सेप्टेम्बरसम्म केही बढेको छ। हालैका सूचकहरूले पनि यही प्रवृत्ति देखाएका छन्। मुद्रास्फीति वर्षको सुरुवाततर्फभन्दा केही बढेको छ र अझै केही उचाइमै छ’ फेडले जारी गरेको वक्तव्यमा भनिएको छ।
४३ दिन लामो सरकारी शटडाउनका कारण अमेरिकी अर्थतन्त्रबारे सरकारी तथ्यांक संकलनमा ठूलो असर परेको समयमा फेडको यस्ताे निर्णय आएको हो ।
श्रम मन्त्रालयसहितका प्रमुख निकायहरूले आयात–निर्यात मूल्य, उत्पादक मूल्य सूचकांक, राज्यस्तरीय रोजगारी तथा बेरोजगारीका तथ्यांक संकलन गर्न सकेका थिएनन्। फेडलाई उपलब्ध अन्तिम मुख्य तथ्यांक सेप्टेम्बरको थियो, जसमा बेरोजगारी दर ४.४ प्रतिशत पुगेको थियो भने कोर मुद्रास्फीति २.८ प्रतिशतमा बढेको थियो।
बुधबार सार्वजनिक नयाँ सरकारी प्रतिवेदनअनुसार तेस्रो त्रैमासिकमा अमेरिकी श्रम लागत ०.८ प्रतिशतले बढेको छ ।
फेडले सधैं आफूलाई राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र राख्ने प्रयास गर्दै आएको छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अझै घटाउन निरन्तर दबाब दिंदै आएका छन्। ट्रम्पको दोस्रो कार्यकालको पहिलो ब्याजदर कटौती सेप्टेम्बरमै भएको थियो।
ट्रम्प समर्थक स्टीफेन मिरानलाई फेड बोर्डमा नियुक्त गरिएको छ, र उनी हाल ह्वाइट हाउसका आर्थिक सल्लाहकारको भूमिकाबाट बिदामा छन्। मिरानले पछिल्ला दुवै बैठकमा २५आधार बिन्दुको सट्टा ५० आधार बिन्दु कटौतीको माग गर्दै असहमत जनाएका छन्।













