आइजीआई प्रुडेन्सियलका संचालक भण्डारी मन्त्री बन्दै, कुन मन्त्रालय सम्हाल्दै छन् ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका संचालक राजेन्द्रसिंह भण्डारीमा समावेश छन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार थप चार जना नयाँ मन्त्रीलाई समावेश गर्न लागेकी छन् । नयाँ मन्त्रीमा आइजीआई प्रुडेन्सियलका संचालक भण्डारी पनि समावेश छन् । भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
उनीसँगै श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नामलाई मन्त्री बनाइने निर्णय भएको शीतल निवास स्रोतले जनाएको छ । स्रोतका अनुसार श्रद्धालाई महिला तथा बालबालिका मन्त्रालय, चौलागाईंलाई वन मन्त्रालय, इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय दिइने तयारी छ ।
नयाँ मन्त्री बन्न लागेका भण्डारी नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक जनरल (एआइजीपी) हुन् । भण्डारीले आइजीआईमा सार्वजनिक सेयरधनीको प्रतिनिधित्व गर्दै बोर्ड अफ डिरेक्टरमा छन् । उनी २०८० फागुन २० गते संचालक बनेका हुन् ।

भण्डारीले १९८७ देखि २०१७ सम्म नेपाल प्रहरीमा ३० वर्षको लामो सेवा अवधि पूरा गरेका छन् । उनले प्रहरी सेवा अवधिमा मानव संशाधन विशेषज्ञको रूपमा कार्य गर्दै नेपाल प्रहरीको संगठनात्मक क्षमता र कार्यप्रणाली सुधार्न महत्त्वपूर्ण योगदान दिएका थिए । यसका साथै भण्डारी राष्ट्रिय सुरक्षा परिषदका सदस्यको रूपमा कार्यरत थिए ।
उनले विभिन्न राष्ट्रिय सम्मान र मेडलहरू प्राप्त गरेका छन् । उनले विभिन्न व्यावसायिक पुस्तकहरू र लेखहरू पनि प्रकाशित गरेका छन्, जसले उनीलाई एक प्रतिष्ठित विचारक र विशेषज्ञका रूपमा स्थापित गरेको छ ।
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे शीतल निवासमा हुने बताइएको छ ।













