आइपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्स मुद्दा : सर्वोच्चले मगायो उच्च अदालतको फैसला
काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमीटेड विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले गरेको फैसला मागेको छ ।
खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दा सर्वोच्चले पाटनले यस अगाडि रिलायन्सको पक्षमा गरेको फैसला मागेको छ ।
सर्वोच्चका मुद्दा तथा रिट महाशाखा प्रमुख अधिकृत नरेन्द्र कुमार शर्माले फैसला सहितको मिसिल पठाई दिन पत्राचार गरेको छ ।
रिलायन्सले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गर्दा गडबडी गरेको भन्दै उच्च अदालतमा मुद्दा परेको थियो । उच्चले रिलायन्सको पक्षमा फैसला गरेपछि शेयर लगानीकर्ता मुद्दा लिएर सर्वोच्च गएका हुन् ।
नेपाल धितोपत्र बोर्डले पनि रिलायन्सको आइपीओ अगाडि बढाउको छ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि रिलायन्सले आईपीओ बिक्री गरेर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए भने सबै आवेदनहरू स्वीकृत भएका थिए ।
गोला प्रथा प्रक्रियामार्फत बाँडफाँट आइपीओमा २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता शेयर सोही लगानीकर्ताहरूमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ ।
रिलायन्सले बुक बिल्डिङ मार्फत आइपीओ ल्याउँदा गडबडी गरेको भन्दै लगानीकर्ताले अदालतमा मुद्दा हालेका थिए ।













