६०० अर्ब डलर क्लबमा प्रवेश गर्दै एलन मस्कले रचे नयाँ इतिहास, कसरी फैलिँदै छ साम्राज्य ?
काठमाडौं । विश्वकै धनाड्य व्यक्तिहरुको सूचीको पहिलो स्थानमा रहँदै आएका अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले फेरी नयाँ कीर्तिमान कायम गरेका छन् ।
टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले अहिलेसम्मकै सबैभन्दा बढी सम्पति कमाउने व्यक्तिको कीर्तिमान कायम गरेका हुन् ।
फोब्सको पछिल्लो तथ्यांक अनुसार एलन मस्कको कुल सम्पत्ति ६०० अर्ब अमेरिकी डलर नाघेको छ । यससँगै उनी इतिहासमै पहिलो पटक ६०० अर्ब डलरभन्दा बढी सम्पत्ति आर्जन गर्ने व्यक्ति बनेका छन् । यसअघि कसैले पनि ५०० अर्ब डलरको सीमा पार गर्न सकेका थिएनन् ।
अगस्टमा ४०० अर्ब डलर रहेको मस्कको रकेट निर्माण कम्पनी स्पेसएक्सको कम्पनी मूल्यांकन डिसेम्बरको सुरुमा ८०० अर्ब डलर पुगेको छ ।
मस्कको स्पेसएक्समा करिब ४२ प्रतिशत स्वामित्व छ । मूल्यांकन दोब्बर भएपछि मात्रै उनको सम्पत्तिमा झण्डै १६८ अर्ब डलर थपिएर ६७७ अर्ब डलर पुगेको फोब्सले फोब्सले जनाएको छ । हाल स्पेसएक्समा रहेको मस्कको हिस्साको मूल्य करिब ३३६ अर्ब डलर पुगेको छ, जुन उनको सबैभन्दा ठूलो सम्पत्ति हो ।
स्पेसएक्सको आईपीओ निष्काशनको तयारी
स्पेसएक्सले सन् २०२६ मा आईपीओ निष्कासन गर्ने लक्ष्य पनि लिएको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको मूल्यांकन १.५ ट्रिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
आईपीओ नहुँदै पनि हालको मूल्यांकनले मस्कको सम्पत्ति ऐतिहासिक उचाइमा पुर्याइसकेको छ ।
टेस्ला अझै पनि बलियो आधार
मस्कको सम्पत्तिमा टेस्ला पनि ठूलो आधार बनेको छ । उनी टेस्लाको करिब १२ प्रतिशत सेयरका मालिक हुन्, जसको मूल्य फोब्र्सले करिब १९७ अर्ब डलर आँकेको छ ।
तर सन् २०१८ को सीईओ पारिश्रमिक प्याकेजअन्तर्गत पाउने स्टक अप्सनलाई जनवरी २०२४ मा डेलावेयरको अदालतले खारेज गरिदिएको थियो । त्यसमा अपिल विचाराधीन रहेकाले फोब्र्सले ती अप्सनको मूल्य ५० प्रतिशत घटाएर ६९ अर्ब डलर आँकेको छ ।
यद्यपि, भविष्यमा टेस्लाबाट थप लाभको सम्भावना कायमै छ । गत नोभेम्बरमा टेस्लाका सेयरधनीहरूले नयाँ पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्, जसअनुसार आगामी १० वर्षमा लक्ष्य पूरा भए मस्कले १ ट्रिलियन डलरसम्मको सेयर पाउन सक्नेछन् ।
एक्स एआई होल्डिङ्समा पनि जोडिँदै मस्क
मस्कको व्यावसायिक साम्राज्यमा एक्स एआई होल्डिङ्स पनि जोडिएको छ । कम्पनीले हाल २३० अर्ब डलर मूल्यांकनमा नयाँ लगानी उठाउने तयारी गरिरहेको बताइएको छ ।
फोब्सका अनुसार एक्स एआई होल्डिङ्समा मस्कको ५३ प्रतिशत हिस्सेदारी छ, जसको मूल्य करिब ६० अर्ब डलर पुग्छ ।पछिल्ला पाँच वर्षमा मस्कको सम्पत्ति यात्राले सबैलाई अचम्मित बनाएको छ ।सन् २०२० को मार्चमा उनको सम्पत्ति २४.६ अर्ब डलर थियो भने अगस्ट २०२० मा १०० अर्ब डलर पार गर्याे ।
जनवरी २०२१ मा १९० अर्ब डलरसहित विश्वकै धनी व्यक्ति बनेका मस्कको सम्पति सेप्टेम्बर २०२१ मा २०० अर्ब डलर बन्न पुग्यो।
यस्तै नोभेम्बर २०२१ मा ३०० अर्ब, डिसेम्बर २०२४ मा ४०० अर्ब र अक्टोबरमा ५०० अर्ब पार गर्दै अहिले ६०० अर्ब डलर नाघेका छन् ।
ओरेकलका सहसंस्थापक ल्यारी एलिसन मात्र ३०० र ४०० अर्ब डलर पार गर्ने अर्का व्यक्ति हुन् ।
फोब्सका अनुसार दोस्रो धनी व्यक्ति, गुगलका सहसंस्थापक ल्यारी पेजको सम्पत्ति करिब २५२ अर्ब डलर छ । मस्क उनीभन्दा झण्डै ४२५ अर्ब डलरले अगाडि छन् ।













