सुस्ताएको घरजग्गा बजारमा फेरि चहलपहल, कारोबार र राजश्वमा एकाएक कसरी आयो उछाल ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सुस्ताएको घरजग्गा बजारमा फेरि चहलपहल, कारोबार र राजश्वमा एकाएक कसरी आयो उछाल ?



काठमाडौं । घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ । विगत केही महिनादेखि सुस्ताएको कारोबार एकाएक उछाल आएको छ । कारोबारसँगै राजश्वमा पनि बढोत्तरी देखिन्छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को मंसिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार मंसिर महिनामा देशभर ५१ हजार ६३२ वटा घरजग्गा किनबेच (लिखत पारित) भएको छ । यो गत वर्षको मंसिरको तुलनामा १९.०२ प्रतिशत बढी हो । तर, गत कात्तिकको तुलनामा तुलनामा भने ८१.९१ प्रतिशत बढेको छ । विभागका अनुसार गत वर्षको मंसिरमा देशभर ४३ हजार ३७९ घरजग्गा किनेबच भएको छ । यता, गत कात्तिक भने २८ हजार ३८३ वटा घरजग्गा खरिदबिक्री भएका थिए ।

विभागका अनुसार चालु आवको पहिलो महिनामा ३१ हजार ६२१ वटा, भदौमा २७ हजार ४९४ र असोजमा २३ हजार ३५३ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

सरकारले भू–उपयोग नियमावली संशोधन गर्दै कित्ताकाट खुला गरेसँगै लामो समयदेखि सुस्ताएको घरजग्गा बजारमा फेरि चहलपहल देखिन थालेको हो । स्थानीय तहले समयमै जग्गा वर्गीकरण नगर्दा कारोबार प्रभावित भएको थियो । तर, साउनदेखि रोकिएको कारोबार मंसिरमा एकाएक बढेको देखिएको छ । यद्यपि, मंसिर महिना घरजग्गा खरिदबिक्रीको मुख्य सिजन भएकाले पनि कारोबार बढेको बताइन्छ ।

अब नयाँ व्यवस्था अनुसार स्थानीय तहहरूले २०८३ असार मसान्तभित्र प्रत्येक कित्ता जग्गालाई कृषि वा गैरकृषि वर्गमा वर्गीकरण गर्नुपर्नेछ । यसअघि वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट अब क्रमश: सहज बन्दै जाने र स्थानीय तहहरूले प्रक्रिया पूरा गरेसँगै आगामी दिनमा घरजग्गा कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ । कित्ताकाट खुल्नुसँगै बजार बिस्तारै पुरानै लयमा फर्किने व्यवसायीहरुको बताउँछन् ।

विभागका आँकडा अनुसार मंसिरमा सबैभन्दा धेरै सुनसरीमा १ हजार ८१२ वटा घरजग्गा किनबेच भएको छ । जुन भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा मार्फत भएको हो ।

यस्तै, धनगढी कैलाली मार्फत १ हजार ६०६, बेलवारी मोरङ मार्फत १ हजार ५४५, जनकपुरधाम धनुषामा १ हजार ५२३, भद्रपुर झापामा १ हजार ४६३, कोहलपुरमा १ हजार २५१, दाङको तुलसीपुर र घोराहीमा क्रमश: १ हजार २१३ वटा र १ हजार १०८ वटा, बुटववल रुपन्देहीमा १ हजार ७६, सप्तरीमा १ हजार ५३, मलंगवा सर्लाहीमा १ हजार ३९, भक्तपुरमा १ हजार ३३ र सिराहामा १ हजार १८ वटा घरजग्गा किनबेच भएका छन् । यी बाहेकका अन्य मालपोत कार्यलयमार्फत १ हजारभन्दा कम संख्यामा किनबेच भएका देखिन्छ ।

देशभर कारोबार बढेसँगै त्यसबापत संकलन हुने राजश्व पनि दोहोरो अंकमा वृद्धि भएको छ । गत मंसिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गत वर्षको सोही महिनाको तुलनामा भने २५.२० प्रतिशत धेरै हो । जबकि, गत वर्षको मंसिरमा घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ बराबरको राजश्व उठेको थियो ।

राजश्वमा भने मालपोत कार्यालय लगनखेल ललितपुरको योगदान ठुलो छ । मंसिरमा मात्रै सो कार्यालय मार्फत ४५ करोड ६० लाख राजश्व उठेको छ।

यस्तै, कलंकी काठमाडौंबाट ३४ करोड ९० लाख, चावहिल काठमाडौंबाट ३२ करोड ६४ लाख, भक्तपुरबाट २९ करोड ४५ लाख, डिल्लीबजार काठमाडौंबाट २४ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

यता, कास्की कार्यालय मार्फत पनि १७ करोड ४३ लाख, चितवन मार्फत १७ करोड ३९ लाख, इनरुवा सुनसरी मार्फत १५ करोड ३० लाख, कैलालीमार्फत १४ करोड १७ लाख, बुटवल रुपन्देही मार्फत १२ करोड १५ लाख, मोरङबाट १२ करोड १ लाख, मनमैजु काठमाडौंबाट ११ करोड ६२ लाख, साँखु काठमाडौंबाट ११ करोड ६१ लाख र रुपन्देहीबाट ११ करोड २८ लाख रुपैयाँ राजश्व उठेको छ ।


प्रतिक्रिया दिनुहोस्