हकप्रद शेयर निष्काशन गर्दै सिंगटी हाईड्रो इनर्जी, बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
कम्पनीको सोह्राैँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १:१ को अनुपातमा रू.१०० अंकित दरको जम्मा ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने पारित भएको थियो ।
कम्पनीले उक्त निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरुबाट प्रवर्धन गरेको ६१.११ मेगा वाटको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीका प्रबन्ध संचालकले जानकारी गराएको छ ।
















