भुक्तानी सेवा प्रदायकले अब लघु बैंकिङ कारोबार अघि बढाउनु पर्छ’
काठमाडौँ । खल्ती एप आईएमई समूहले किनेर आईएमई पेसँग मर्ज गरेपछि यो कम्पनी ‘खल्ती बाई आईएमई’ बन्यो । यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मी पनि पुरानो खल्तीबाटै आएका हुन् । उनले यो एपलाई विभिन्न खेल तथा सिनेमाको टिकट लिने काममा प्रयोग गर्ने गरी आक्रामक विस्तार गरेपछि आईएमई समूहको ‘आँखामा परेको’ थियो ।
अब उनी बैंक, बीमा र धितोपत्र बजारका खुद्रा कारोबारहरु सुरु गर्नुपर्ने योजनामा छन् । जसले समाजको तल्लो वर्गलाई वित्तीय आवस्यकताको पूर्ति गर्न सकोस् । अर्थपथले उनीसँग गरेको कुराकानीको आधारमा तयार पारिएको यो लेखमा उनका सुन्दर विचारलाई पढ्न सक्नुहुन्छ :
टुङ्गियो मर्जर, जारी छ काम
यदी तपाइँले बैंक मर्ज गर्नु भएको छ भने एक रात ग्राहकको विवरण एकीकृत गरिदिएपछि भोलिपल्टबाट ग्राहकले नियमित सेवा पाउँछन् । सबै बैंक र सबै शाखाहरुमा प्राय: एकै किसिमको सेवा सञ्चालन गरेको हुन्छ । तर वालेटमा त्यसरी सफ्टवयरको युजरमात्रै ‘मर्ज’ गरेर हुँदैन । खल्तिले विभिन्न किसिमका सेवा दिँदै आएको छ भने आईएमई पेले भिन्न तथा विभिन्न किसिमका सेवा दिँदै आएको छ ।
त्यसैले सबै सेवामा पनि एक–एक वटा ‘इन्टिग्रेशन’ गर्नुपर्ने हुन्छ । त्यसले गर्दा अलि धेरै समय खर्च हुने रहेछ । हामीले गत फागुनमा मर्जरका लागि राष्ट्र बैंकबाट अनुमति पाएका हौँ । अस्ति पुस ३० गतेमात्रै हामीले सबै मर्जरका प्रक्रियाहरु सम्पन्न गर्न सक्यौँ । ‘डाटा माइग्रेशन’को काम अब सकिएको छ । तर ‘माइग्रेशन’ पछिको स्थायित्वमा अझै काम गर्नुपर्ने अवस्था आएको छ ।
कसको खातामा के चलिदिँदैन । कतै कुनै समस्या आउँछ । यी सबै कुराहरुलाई स्थीर र अनवरत सञ्चालन गर्ने चुनौतीका लागि अहिले हामीले काम गरिरहेका छौँ । यो प्रयत्न सकिएपछिमात्रै अब नयाँ सेवा के ल्याउने भन्ने बारेमा सोच्नुपर्ने हुन्छ ।
त्यसो त, यी दुई वालेटले पहिले नै यति धेरै सेवा सुरु गरिसकेका छन् की, अब धेरै थपिरहनु पर्ने आवस्यकता छैन । अहिले रहेका सेवालाई नै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने छ । बजारीकरण गर्ने र मानिसहरुलाई बुझाउने काम गर्नुपर्ने छ । हुन त, अहिलेसम्म आईएमई पे चलाउने सबैजसो ग्राहकले खल्तिमा रुपान्तरण गरिसकेका छन् । ‘ब्याक इन्ड’मा पनि सबै प्लयाटफर्महरु चलायमान बनाइसकेका छौँ ।
प्राविधिक रुपमा हामी स्थीर र उत्कृष्ट भइसकेका छौँ । १ मा १ जोड्दा २ होइन, ११ बनाउनु पर्ने हुन्छ । मर्जरको त्यही मान्यता हो । यसका लागि हामीले काम गरिरहेका छौँ । कर्मचारीहरुबीचको अन्तरसम्बन्ध विस्तारै बन्दै छ । पहिले एक–अर्काबीच चिनजान नै नहुने अवस्था थियो । अब आपसमा मीत्रता विकसित हुन थालेको छ । यसले भविष्यमा राम्रो परिणाम दिन्छ ।
नयाँ सेवा
हामीले ल्याउने भनेको बैंकका लागि सहयोगी हुने सेवाहरु नै हो । बैंकले गर्न चाहने, तर उसले गर्न नसक्ने काममा हामीले हात बढाउनु पर्छ । उदाहरणका लगि हामीले ‘स्मार्ट डिपोजिट’ भन्ने सेवा दिन्छौँ । त्यसमा १०० रुपैयाँ, ५०० रुपैयाँ पनि निक्षेप जम्मा गर्ने गर्छौँ । त्यो हामीले मञ्जुश्री फाइनान्ससँग मिलेर गरिरहेका छौँ । त्यस्तै हाम्रो ‘सुपर वालेट’ छ । तपाइँले खल्ति एपमै पनि ब्याज पाउने गरी सुपर वालेट क्रिएट गर्न सक्नुहुन्छ ।
त्यस अनुसार तपाइँले बैंकको एटीएम बूथबाट वालेटमा भएको पैसा निकाल्न सक्नुहुन्छ । अहिले नै पनि खल्ति एपमा भएको तपाइँको पैसा नबिल बैंकको कुनै पनि एटीएम बूथबाट नगद निकाल्न सकिन्छ । अब हामीले ‘फिजिकल कार्ड’ (एटीएम कार्ड) पनि छिट्टै ‘लञ्च’ गर्दै छौँ । त्यो भएपछि जुनसुकै बैंकको एटीएम बूथबाट पनि खल्ति एपमा भएको पैसा निकाल्न सकिन्छ । यसका लागि बैंकको एटीएमले लिने ५–७ रुपैयाँ (अहिले धेरैले १५ रुपैयाँ लिन्छन्) सेवा शुल्क तिरेर नगद निकाल्न सकिन्छ ।
यस्तै साना साना बैंकिङ कारोबारहरु, जस्तै– साना साना निक्षेप, मुद्दति खाताहरु, माइक्रो क्रेडिट (लघु कर्जा)हरु, यस्ता क्षेत्रमा काम गर्ने योजना छ । यसमा हामी विस्तारै जान्छौँ ।
भुक्तानीको कारोबार र स्थायित्व
भुक्तानी सेवा प्रदायककै रुपमा पनि कारोबार गरेर कम्पनी धान्न नसकिने होइन, यसलाई विस्तार कसरी गर्ने भन्ने ठूलो कुरा हो । साथै, भुक्तानीको आवस्यकता तबमात्रै हुन्छ, जब कसैसँग पैसा हुन्छ । त्यसैले पैसा राख्ने भाँडो पनि त बनाइदिनु पर्यो नि ।
मान्छेको खर्च गर्ने एउटा प्रवृत्ती हुन्छ । यदी मसँग १० हजार रुपैयाँ छ भने म त्यो पुरै पैसा बोकेर बजार जाँदिन । म २ हजार बोकेर सामान किन्न निस्कन्छु । वालेट भनेको पनि त्यस्तै हो । बैंक खातामा मेरो तलबको भएभरको पैसा छ भने पनि मैले १०–२० रुपैयाँ क्यूआर तिरेको, १०० रुपैयाँ टपअप गरेको, रेस्टुरेण्टमा ५०० रुपैयाँ तिरेको, तरकारी किनेको, वा सबै कारोबार बैंक खाताबाटै तिर्न थालियो भने बैंकमा त्यो खाता सञ्चालनको आकार नै ज्यादै ठूलो हुन्छ ।
त्यसले भोलि ‘क्रेडिट स्कोप’ पनि राम्रो देखिँदैन । त्यसैले मानिसहरुले टक्क वालेटमा पैसा ‘लोड’ गर्छन् । यस्ता खुद्रा भुक्तानीहरु त्यसैबाट गर्छन् । किनकी, वालेटको काम नै त्यही हो– साना साना भुक्तानीहरु गर्ने । त्यसैले अरु बेला बजारमा खर्च गरेजस्तै साधारण खुद्रा भुक्तानी बजारबाटै खर्च गर्ने र ठूलो आकारको भुक्तानीका लागि बैंक खाताको प्रयोग गर्ने गर्नु उचित हुन्छ ।
कसैलाई ऋण वा सापटी लेन–देन गर्नुपर्यो, परिवारलाई तलवको निश्चित रकम तिर्नुपर्यो, घर बाहल तिर्नुपर्यो, वा बचत नै राख्नु पर्यो भने त्यस्तो पैसा बैंकमा राख्ने गरिन्छ । हामीले वालेट र बैंकको ‘डिमार्केशन’ त्यसरी बुझेका छौँ ।
हामीले वालेटमा भएको पैसामा ब्याज पनि दिन्छौँ । यसका लागि हामीले बैंकसँगै सम्झौता गरेका हुन्छौँ ।
नेपालको परिप्रेक्षमा कमाइको औसत २० प्रतिशत बचत गर्ने गरेको देखिन्छ । बाँकी सबै खर्च नै गर्ने गर्छन् । त्यो खर्च गर्ने ठूलो रकमका लागि खर्च गर्ने भुक्तानी सेवा प्रदायक चाहिन्छ । अहिले नेपालको कुल वित्तीय बजार डिजिटाइज हुन धेरै बाँकी छ । अहिले २०–२५ प्रतिशत पनि पुगेको छैन । त्यसैले ठूलो जनसंख्यामा पुग्न बाँकी नै छ । यस्तो अवस्थामा अवसर प्राप्त हुने भनेको हामीजस्तै भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई नै हो ।
बैंकलाई पनि त्यो काम गर्ने छुट त छ । तर मैले माथि उल्लेख भएजस्ता कारणले त्यसो गर्नु व्यवहारिक हुँदैन । त्यसैले भविष्यमा भुक्तानी सेवा प्रदायकको व्यवसाय ‘दिगो’ (सस्टेनेबल)मात्रै नभएर नाफा प्रदायक (प्रफिटेबल) नै छ भन्ने देख्दछु ।
लघु बैंकिङको संभावना
तर त्यसरी बैंकमा पैसा बसोस भन्नका लागि त्यहाँ बैंकिङ सेवाहरु पनि दिनु जरुरी छ । मानौं, यदी कसैसँग ५ हजार रुपैयाँ छ । उसले विहान कालिमाटी गएर ५ हजार रुपैयाँको तरकारी ल्याउँछ । साँझसम्म उसले बेचेर सिध्याउँछ । त्यसबाट उसले १ हजार रुपैयाँ नाफा निकाल्छ । तर उसँग १५ हजार भइदिएको भए उसले दिनमा ३ हजार कमाउन सक्थ्यो । यस्तो अवस्थामा बैंकको शाखाले १५ हजार ऋण दिएर चल्दैन । सहकारी संस्थामा गयो भने त्यसका आफ्नै कथाहरु छन् ।
त्यो हुनाले यस्ता साना साना ऋणहरु बैंकले नै दिने, तर कुन च्यानलबाट दिने त ? यसलाई डिजिटल्ली नै गर्ने र भुक्तानी सेवा प्रदायकबाट दिने हो । त्यसो हुनाले हामी अब बैंकिङ सेवामा जानुपर्छ भनेको हो । हामीले यहाँबाट १ करोड रुपैयाँको ‘एसएमई’ कर्जा दिन्छु भनेर सक्दिन । तर ५–१० हजारका सापटी दिन सकिन्छ ।
यदी तपाइँलाई कुनै सामान मन पर्यो । आजै लिनका लागि पैसा छैन । १५ दिनपछि तलब आउँछ वा कहीँबाट पैसा आउँछ । त्यतिञ्जेलका लागि ऋण चाहियो भने साना साना कर्जा वालेटले दिन सक्छन् । हाम्रो प्राथमिक काम नै यही हो । नेपालमा बस्ने नेपालीको जनसंख्या २ करोड छ भने त्यसको आधा अर्थात् १ करोजजतिले यस्तै सेवाहरुको माग गरिरहेका हुन्छन् ।
केही संख्यामा हामीले लिने, केही संख्यामा अरु वालेट कम्पनीहरुले लिने र काठमाडौँभन्दा बाहिरको बजारका बारेमा पनि सोच्ने हो भने डिजिटल कारोबारमा ठूलो फड्को मार्न सकिन्छ । काठमाडौँ, पोखरा र विराटनगरका विजनेश हबभन्दा अलि दायाँबायाँ पनि लाग्नुपर्छ । यति गर्यो भने नेपालको वित्तीय क्षेत्र डिजिटाइजेशन २०–२५ प्रतिशतबाट ६०–७० प्रतिशत पुग्छ ।
सिकाइको विस्तार
डिजिटल भुक्तानीको प्रवर्द्धनका लागि हामीले मानिसहरुलाई सिकाउनुको विकल्प नै छैन । विद्यालयहरुमा पुगेर बालबालिकालाई सिकाउने, कलेजहरुमा पुगेर किशोर तथा युवाहरुलाई सिकाउने हो । उनीहरुलाई बुझाउनका लागि भिडियोहरु बनाएर देखाउने हो कि, बजारमा त्यसका लागि मार्केटिङ गर्ने हो कि ? सीएसआर गर्ने हो कि ?
सिकाउनुको विकल्प छैन । तर सबै कुरा वालेट कम्पनीहरुले मात्रै सिकाएर तार लाग्दैन । केही कुराहरु सरकारले पनि सिकाइदिनु पर्छ । केही कुरा समुदायले सिकाउनु पर्छ । केही कुरा विद्यालय र कलेजहरुले नै सिकाउनु पर्छ । केही कुरा साथीले साथीलाई सिकाउनु पर्छ । चलाउन जान्ने छोराछोरीले आफ्नो बुबाआमालाई सिकाउनु पर्छ ।
एउटा समय थियो, जतिबेला क्यास ब्याकदेखि विभिन्न लोभ देखाएर सिकाउने प्रयत्न हुन्थ्यो । तर त्यो काम धेरै दिगो हुँदैन । लोभ देखाएपछि खर्च धेरै गर्नुपर्छ । यसका लागि मार्जिन (नाफा) धेरै हुनुपर्छ । कसैले १० रुपैयाँको सामान किन्यो भने त्यसमा कति मार्जिन हुन्छ र कति क्यासब्याक देखाएर सिकाउने भन्ने हुन्छ । त्यसैले सिकाउने विधी (मेथेडोलोजी)हरु धेरै प्रयोग गर्नुपर्ने हुन्छ । अरु तरिका छैन ।
नवप्रवर्तन कहाँ गर्ने त ?
अहिले बैंकहरुले आफ्ना मोबाइल बैंकिङ एपहरुमा असाध्यै धेरै सेवाहरुलाई जोड्न थालेका छन् । उनीहरुले खुद्रा कारोबार र सुविधाहरुलाई आफ्नो एपमा जोड्दै गएका छन् । त्यसरी नै डिजिटल पेमेण्ट कम्पनीहरु पनि अब बैंकिङ सेवामै जानुपर्ने हुन्छ ।
लघु कर्जा, लघु निक्षेप, लघु बीमा, एसआईपीजस्ता धितोबजारका प्रडक्टहरु, यस्ता सेवा वालेट कम्पनीहरुमा विस्तारै आउनु पर्छ । केही सेवाहरु बैंक र बीमा कम्पनीले आफ्नो शाखा वा एपबाट पनि दिन सक्दैनन्, ती चिजहरु वालेटतिर तानिन्छन् ।
अर्कोतिर अहिले हामीले एउटा पुस्ता वा निश्चित शहरी क्षेत्रका समुदायले डिजिटल कारोबार गरेको देखिरहेका छौँ । तर वास्तविकता त्यस्तो छैन । एउटा घरमा ५ जनाको परिवार छ भने त्यसमध्ये २ जनाले आधारभूत रुपमा डिजिटल कारोबार गर्छन् । बाँकी ३ जनाले अहिले पनि नगदमै कारोबार गर्छन् । मेरो घरमा सबै घरायसी किनमेल र कारोबार मेरी आमाले गर्नुहुन्छ । मैले आफ्नो व्यक्तिगत खर्चमात्रै गर्छु । तर मैले गर्ने खर्च मेरो पारिवारिक खर्चको ५ प्रतिशतमात्रै हुन्छ ।
यस्तो अवस्थामा मैले डिजिटल कारोबार गरेको भए पनि मेरी आमाले नगदमै कारोबार गर्नुहुन्छ । अब उहाँ (आमा)लाई डिजिटल कारोबार सिकाउनु नै सबैभन्दा ठूलो चुनौती हो । सबै नवप्रवर्तन र प्रवर्द्धनका कामहरु यसकै लागि गरिनुपर्ने आवस्यकता छ । पहूँच विस्तार नै अहिलेको चुनौती हो ।
रेग्मी ‘खल्ती बाई आईएमई’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।













