३ आश्विन २०८३, शनिबार

ज्योति विकास बैंकको खुद नाफा २५ करोड 



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा आफ्नो खुद नाफामा गत वर्षको तुलनामा उल्लेख्य सुधार गरेको देखिएको छ । 

बैंकले ६ महिनामा २५ करोड १ लाख ३२ हजार खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्दा १४७.५७ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १० करोड १० लाख ३४ हजार रुपैयाँ मात्र खद नाफा गरेको थियो । 

वित्तीय सूचकहरूको अवस्था बैंकको व्यवसाय विस्तार र आम्दानीका अन्य सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएका छन् । समीक्षा अवधिमा बैंकले १ अर्ब ११ करोड ९१ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 

निक्षेप र कर्जा परिचालन दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा बैंकले ग्राहकहरूबाट ६१ अर्ब ३५ करोड १८ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

बैंकको कुल दायित्व र सम्पत्ति ७१ अर्ब ८४ करोड २९ लाख ६९ हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ११.३८ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा खराब कर्जा बढेको देखिएको छ । गत वर्ष बैंकको खराब कर्जा ४.८८ प्रतिशत मात्र थियो । 

बैंकको सिडी रेसियो ८०.४९ प्रतिशत छ भने बेस रेट ७.८२ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४९.३६ रुपैयाँ छ । पीइ रेसियो ३१.२० रहेको छ ।