सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण सुरु, बैंक खाता अपडेट गर्न आग्रह
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश वितरण सुरु गरेको छ।
कम्पनीको २०८२ पुस २४ गते सम्पन्न ९औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेसँगै भुक्तानी प्रक्रिया अगाडि बढेको हो।
कम्पनीले चुक्ता पुँजीको १०.१४८० प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियाे ।
उक्त लाभांश सेयरधनीको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा २०८२ पुस २४ गतेदेखि नै क्रमानुसार जम्मा गर्न थालिएको हाे ।
यता मर्जरका कारण बैंक खाता नम्बर परिवर्तन भएका सेयरधनीहरूको लाभांश फिर्ता आएको हुनाले, त्यस्ता सेयरधनीहरूलाई यथाशीघ्र आफ्नो नयाँ खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन आग्रह गरेको छ।
नगद लाभांश जम्मा गर्दा बैंक वा वित्तीय संस्थाको नियमअनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै बेहोर्नुपर्नेछ।
आफ्नो सेयर धितो राखी कर्जा सुविधा लिइरहेका सेयरधनीहरूले भने लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंकबाट ‘नाे अब्जेक्सन लेटर’ वा फुकुवा पत्र सानिमा क्यापिटल लिमिटेडमा बुझाउनुपर्नेछ।
















