मोरङमा वीरगञ्ज उद्योग वाणिज्य संघको टोली, के भयो कुराकानी ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मोरङमा वीरगञ्ज उद्योग वाणिज्य संघको टोली, के भयो कुराकानी ?



मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई संघको कार्यालयमा स्वागत गरी औपचारिक भेटघाट तथा छलफल गरेको छ ।

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानिया लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यले आज वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठको नेतृत्वमा विराटनगर आइपुगेको टोलीलाई स्वागत गरेको हो ।

भेटघाटका क्रममा आपसी सद्भाव, सहकार्य र पारस्परिक सम्बन्ध विस्तारका विषयमा विचार–विमर्श गरिएको थियो ।

सो अवसरमा संघका उपाध्यक्ष अनिल सारडाले विशेषगरी विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जजस्ता प्रमुख आर्थिक कोरिडोरमा संलग्न उद्योगी तथा व्यवसायीहरुले अन्य क्षेत्रको तुलनामा जमीनीस्तरका व्यवहारिक समस्याहरु बढी भोग्नु परिरहेको उल्लेख गरे ।

त्यस्ता साझा समस्याहरुको समाधानका लागि मोरङ उद्योग व्यापार संघ, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संघ–संस्थाहरुले संयुक्त रुपमा सरकार समक्ष सशक्त दबाब सृजना गर्नु पर्ने धारणा उनले राखे ।

त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रका समस्याहरुको उठान तथा समाधानका लागि निरन्तर गर्दै आएको नेतृत्वदायी भूमिका र पहलका निम्ति मोरङ संघको प्रशंसा गरे । साथै उनले उद्योगी–व्यवसायीहरुको साझा हितका विषयमा आवश्यक सबै सहकार्य र पहलका लागि आफ्नो संघ सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्