९ मंसिर २०८३, बुधबार

काण्डला बन्दरगाह नेपालका लागि खुला हुँदा वनस्पति घ्यू तथा तेल उद्योगलाई आयातमा सहजता



काठमाडौँ । भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट नेपालका प्रशोधित खाद्य तेल उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था हुनु नेपाली वनस्पति घ्यू तथा तेल उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको छ । हालै सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भई काण्डला बन्दरगाहबाट समेत क्रुड सनफ्लावर आयल र क्रुड सोयाविन आयल आयात गर्न सकिने व्यवस्था मिलाइएको हो ।

यस व्यवस्थाले नेपाली खाद्य तेल उद्योगलाई थप वैकल्पिक आयात मार्ग प्रदान गरेको छ । यसअघि नेपाली उद्योगहरू कोलकाता र हल्दिया बन्दरगाहमा मात्र निर्भर रहनुपर्दा ढुवानी खर्च, समय तथा समग्र आयात लागतका हिसाबले विभिन्न कठिनाइ झेल्दै आएका थिए ।

बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडसहितको प्रतिनिधिमण्डलले नेपाल सरकारका सम्बन्धित निकायहरूसमक्ष निरन्तर जोडदार माग राख्दै आएको थियो । काण्डला बन्दरगाहको प्रयोग खुल्दा उद्योगहरूको आयात लागत न्यूनीकरण हुने, आपूर्ति सहज बन्ने र नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने विश्वास लिइएको छ ।

उच्चस्तरीय वार्तामा नेपाली उद्योगका मागलाई प्राथमिकताका साथ उठाई समाधानको बाटो खोलिदिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति आभार तथा धन्यवाद व्यक्त गरिएको छ । साथै, यो उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला सबै पक्षप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

आगामी दिनमा सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय र संवादलाई अझ प्रभावकारी बनाउँदै नेपाली उद्योगको विकास, विस्तार तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन यस्ता सकारात्मक पहलले निरन्तरता पाउने अपेक्षा गरिएको संघका अध्यक्ष विकास दुगडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।