९ मंसिर २०८३, बुधबार

विराटनगर जुट मिलको ऐतिहासिक विरासत फर्काउने कसरतमा सरकार, कस्तो छ सञ्चालन मोडालिटी ?



काठमाडौँ। मुलुककै पहिलो आधुनिक उद्योग विराटनगर जुट मिललाई पुनः सञ्चालनमा ल्याउन रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया सुरु भएको छ । विराटनगर जुट मिल्स लिमिटेडले मिलको आधुनिकीकरण, पुनर्निर्माण तथा दीर्घकालीन व्यवस्थापनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग औपचारिक रूपमा आशयपत्र (इओआई) माग गरेको हो ।

वि.सं. १९९३ मा स्थापित यो ऐतिहासिक प्रतिष्ठान लामो समयदेखि विविध संकटका कारण बन्दप्रायः अवस्थामा छ । अब यसलाई नयाँ ढंगले ब्युँताएर मुलुकको औद्योगिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित लगानीकर्ता आह्वान गरिएको कम्पनीले स्पष्ट पारेको छ ।

कस्तो छ सञ्चालन मोडालिटी ?

लगानीकर्तालाई आकर्षित गर्न कम्पनीले मिलको विगतका कुनै पनि आर्थिक, वित्तीय वा श्रमिकसम्बन्धी पुराना दायित्वको भार नयाँ साझेदारलाई नपर्ने ग्यारेन्टी गरेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) वा दीर्घकालीन लिज (भाडा) मोडेलमा बढीमा ३५ वर्षका लागि उद्योग सञ्चालन गर्न दिइनेछ । यसमा रोयल्टी, संयुक्त लगानी वा निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) जस्ता विकल्पहरूसमेत खुला राखिएका छन्।

विराटनगर र दमकमा रहेको कुल ६७ बिघा औद्योगिक जग्गालाई मुख्य पूर्वाधार मानेर अघि बढाइने यो परियोजनामा दैनिक कम्तीमा १२५ मेट्रिक टन जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ । उद्योग पूर्ण क्षमतामा चल्दा ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।

भारतीय सीमा, रेलमार्ग र व्यापारिक नाकाको निकटताका कारण कच्चा पदार्थ आयात र उत्पादित वस्तु दक्षिण एसियाली बजारमा निर्यात गर्न सहज हुने कम्पनीको विश्वास छ । साथै, लगानीकर्ताले प्रचलित औद्योगिक तथा विदेशी लगानी ऐनअनुसार मुनाफा फिर्ता लैजाने, मेसिनरी आयातमा भन्सार छुट र सुरुवाती वर्षमा रोयल्टी सहुलियतजस्ता सुविधा पनि पाउनेछन् ।

लगानीकर्ताका लागि कडा मापदण्ड र आवेदन प्रक्रिया

मिल सञ्चालनका लागि जुट उद्योगमा कम्तीमा २० वर्षको सफल अनुभव भएको, दैनिक १०० मेट्रिक टन क्षमताको उद्योग चलाइसकेको र अन्तर्राष्ट्रिय निर्यात सञ्जाल भएको अनुभवी औद्योगिक समूहलाई मात्र योग्य मानिनेछ ।

इच्छुक कम्पनीले पछिल्लो तीन वर्षको लेखापरीक्षण प्रतिवेदन र निर्यात अनुभवको प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र उद्योग मन्त्रालय (सिंहदरबार) वा मिलको कार्यालय (विराटनगर–१५) मा आशयपत्र बुझाउनुपर्नेछ । आशयपत्र परेको एक महिनाभित्रै छनोट भएका लगानीकर्तासँग समझदारीपत्र (एमओयू) गर्ने योजना कम्पनीले अघि सारेको छ ।