मणिपुरमा राजनीतिक पुनरोदय: युमनम खेमचन्द सिंह विधानमण्डल दलको नेता निर्वाचित
संसारकै सबैभन्दा ठूलो गैह्रसरकारी संस्था दाबी गरिएको भारतीय सांस्कृतिक संगठन ‘राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)’ का निष्ठावान कार्यकर्ता एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता ६२ वर्षीय युमनम खेमचन्द सिंह मंगलबार भारतीय राज्य मणिपुरमा भाजपा विधानमण्डल दलको नेता चुनिएका छन्।
जातीय हिंसाले थलिएको यस उत्तर–पूर्वी राज्यमा पुन: निर्वाचित सरकार बहाली गर्ने दिशामा यसलाई एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।
खेमचन्दको यो पदोन्नति यस्तो संवेदनशील घडीमा भएको छ, जब मणिपुर आगामी फेब्रुअरीमा राष्ट्रपति शासनको एक वर्ष पूरा गर्दैछ। सन् २०२३ मे ३ मा मेइतेई र कुकी समुदायबीच भड्किएको जातीय हिंसाका कारण उक्त राज्य लामो समयदेखि अशान्त छ। यस भीषण संघर्षमा हालसम्म २५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ६०,००० भन्दा बढी मानिस विस्थापित भएका छन्।
चयन प्रक्रिया र शुभेच्छा
भाजपा संसदीय बोर्डको निर्णयअनुसार सोमबार पार्टीका राष्ट्रिय महासचिव तरुण चुघलाई विधानमण्डल दलको नेता चयनका लागि केन्द्रीय पर्यवेक्षक नियुक्त गरिएको थियो।
खेमचन्द निर्वाचित भएलगत्तै मणिपुर भाजपाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई ज्ञापन गर्दै लेखेको छ, ‘माननीय श्री युमनम खेमचन्द सिंहज्यू, मणिपुर भाजपा विधानमण्डल दलको नेतामा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । तपाईंको अनुभव, समर्पण र नेतृत्वले पार्टीलाई थप मजबुत बनाउनेछ र मणिपुरका जनताका आकाङ्क्षाहरूलाई पूरा गर्न सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।’
एकताको सेतु बन्ने आशा
खेमचन्दलाई मेइतेई समुदायका यस्ता विरलै नेताहरूमध्ये गनिन्छ, जसप्रति कुकी समुदायका केही तप्काले अझै पनि विश्वास र स्वीकार्यता राख्दछन्। हिंसा भड्किएपछि, सन् २०२५ डिसेम्बरमा कुकी गाउँहरूको भ्रमण गर्ने उनी पहिलो मेइतेई विधायक थिए।
त्यस क्रममा उनले नागा बाहुल्य जिल्लाहरू उखरुल र कामजोङ अन्तर्गत पर्ने लिटान र चासाड गाउँ पुगेर स्थानीय बासिन्दासँग हार्दिकतापूर्वक सम्वाद गरेको बताइएको छ ।
















