फागुन ४ गतेदेखि सर्वसाधारणका लागि १२ करोड ८६ लाखकाे आईपीओ ल्याउँदै सुपर खुदी हाइड्रोपावर
काठमाडाैं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको शेयर बाँडफाँट सफलतापूर्वक सम्पन्न गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो।
कम्पनीले आफ्नो कुल १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीयका लागि, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि यसअघि नै छुट्याएर बाँडफाँट गरिसकिएको छ।
अबको दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि ३१ हजार कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यो शेयर खरिद गर्न पाउनेछन्।
यस आईपीओमा सहभागी हुन चाहनेले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन कार्य छिटोमा फागुन १० गते र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा फागुन १९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।













