व्यवसाय बढाउँदै मेटलाइफ: ६ महिनामा ३ अर्ब १० करोड खुद बीमा शुल्क आर्जन, जीवन बीमा कोष ३१ अर्ब माथि
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सामान्य गिरावट देखिएको छ। साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले २२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८.५६ प्रतिशतले घटेको हो।
नाफा घटे तापनि कम्पनीको व्यवसाय विस्तारमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १३.१७ प्रतिशतले बढेर ३ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो शुल्क २ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ मात्र थियो।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा आकर्षक बढोत्तरी भएको छ। गत वर्ष २७ अर्ब ३२ करोड रुपैयाँ रहेको यो कोष १३.८१ प्रतिशतले बढेर ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यसले कम्पनीको आन्तरिक स्रोत व्यवस्थापन र दीर्घकालीन दायित्व वहन गर्ने क्षमता मजबुत रहेको संकेत गर्दछ।
यद्यपि, कम्पनीको खर्च र दाबी भुक्तानीको दर बढ्दा त्यसको प्रत्यक्ष असर खुद नाफामा परेको देखिन्छ। यस अवधिमा कुल खर्च १०.२७ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानीमा पनि ९.६६ प्रतिशतको वृद्धि भई १ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, अभिकर्ता कमिसनमा हुने खर्च १४.२७ प्रतिशतले बढेर २७ करोड १६ लाख रुपैयाँ पुग्दा र लगानी तथा कर्जाबाट हुने आम्दानीमा २.०९ प्रतिशतको सामान्य गिरावट आउँदा नाफा प्रभावित भएको हो।
हाल कम्पनीकाे महाविपत्ति कोषमा ६३ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २८ करोड १० लाख रुपैयाँ रहेको छ।













