आईपीओ निष्कासन गर्दै सिद्धार्थ फर्मास्युटीकल्स, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईपीओ निष्कासन गर्दै सिद्धार्थ फर्मास्युटीकल्स, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल



काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर ( आईपीओ) निष्कासन गर्ने भएको छ ।

यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा मिति २०८२ माघ २७ गते काठमाडौं नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरे।

वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ ।

कम्पनीले WHO–GMP/ National-GMP प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको मूल लक्ष्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस” भन्ने विश्वासमा आधारित छ ।

यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा रहेको छ । यस प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया WHO–GMP मापदण्ड अनुरूप रहेका छन्, जसको उद्देश्य ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्नु रहेको छ । कम्पनीका सबै इकाईहरूमा गुणस्तरीय अत्याधुनिक र विश्वस्तरीय उपकरणहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्