सर्वसाधारणका लागि खुलेकाे रिज लाइन इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको यो आइपीओमा लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँड गरिसकेको छ।
कम्पनीले आफ्नो कुल १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पूँजीको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निर्धारण गरिएको थियो, जसको प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ।
दोस्रो चरण अन्तर्गत कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको हो।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरको यो आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।













