मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघ बीच भेटघाट
विराटनगर । दुई संस्थापक संघहरु, मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघले विराटनगरमा औपचारिक भेटघाट गरी छलफल गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वको टोलीले आज विराटनगर आएका चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी नेतृत्वको टोलीलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।
सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले स्वागत मन्तव्य प्रस्तुत गर्दै मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघ दुवै संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक संघहरु रहेको र निजी क्षेत्रको इतिहासदेखि नै दुवै संघले महत्वपूर्ण भुमिका खेल्दै आएको बारे चर्चा परिचर्चा गरेका थिए । उनले दुवै संघका साझा एजेन्डाका विषयहरुमा ऐक्यवद्धताका लागि जोड दिनुका साथै दुवै संघबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने, निजी क्षेत्र बीचको सहकार्य र आपसी सम्बन्ध सुदृढीकरण, व्यापार प्रवद्र्धन तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बतएका थिए । साथै, अध्यक्ष राठीले महासंघका दुई संस्थापक संघहरुले भेटघाट र छलफल गर्ने सुखद अवसर प्राप्त गरेकोमा खुशी समेत व्यक्त गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा उपस्थित संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालको समसामयिक आर्थिक अवस्था, राजनीतिक परिस्थिति, लगानी वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौतीहरु तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्दै मुलुकको विद्यमान अवस्था सुदृढिकरणका लागि निजी क्षेत्रबाटै ठोस कदम चालिनु पर्ने बताए । उनले निजी क्षेत्रका राष्ट्रियस्तरका एजेन्डा र नीतिहरुको सुधार, जिल्ला/नगर उद्योग वाणिज्य संघहरु बीच अझ प्रभावकारी सहकार्य लगायतका विषयहरुलाई सम्बोधन गराउन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अझ सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा समेत राखेका थिए ।
साथै, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रका समस्याहरुको समाधानका लागि विगत देखि खेल्दै आएको नेतृत्वदायी भूमिकाहरु प्रशंसनीय र उपलब्धीमुलक रहेको बताउनु भई दुवै संघ बीचको आपसी सहकार्यलाई निरन्तरता दिँदै उद्योग, व्यापार तथा उद्यमशीलताको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
संघका महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष, निवर्तमान अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्षद्वय अनिल सारडा र विकास कुमार बेगवानी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो भने चितवन उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सहित निवर्तमान अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र वली, का.का.सदस्य विष्णु लम्साल र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानको उपस्थिति रहेको थियो ।
















