आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ मा लगानी गर्ने आज फागुन १४ गते अन्तिम दिन हो।
गत फागुन ११ गतेदेखि बिक्री खुला गरिएको यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ। ७ वर्षको अवधि रहेको यस ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ८ प्रतिशतका दरले ब्याज आम्दानी प्राप्त गर्नेछन्।
फाइनान्सले कुल ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र बजारमा ल्याएको हो। यसमध्ये कुल निष्काशनको ६० प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
बाँकी रहेको २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ, जसमध्ये ५ प्रतिशत (१० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा सहभागी हुन चाहनेले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन भर्न सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै मेरो सेयर मार्फत अनलाइनबाटै ‘सि-आस्बा’ प्रणाली प्रयोग गरी सुरक्षित रूपमा आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
















