चालु खाता करिब ५ खर्ब र शोधनान्तर स्थिति पाैने ६ खर्बले बचतमा
काठमाडौं । मुलुकको चालु खाता करिब ५ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा देखिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको छ ।
यस्तै माघ मसान्तसम्मा खुद पुँजीगत ट्रान्सफर रु.११ अर्ब ४३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ५ अर्ब ८३ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.७ अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा रहेको छ ।













