२३.३ प्रतिशतले बढ्याे विदेशी मुद्रा सञ्चिति, २१ महिना बढीको वस्तु आयात धान्ने
काठमाडौं । गत माघ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को ७ महिना (साउनदेखि माघसम्म) विदेशी मुद्राको सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।
२०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति १९ अर्ब ५० करोड रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई रु.२९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई रु.३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।













