मोरोक्कोको अवैतनिक महावाणिज्यदूत बनिन् मेघा चौधरी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मोरोक्कोको अवैतनिक महावाणिज्यदूत बनिन् मेघा चौधरी



काठमाडौं । नेपाल र मोरोक्को अधिराज्यबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ उद्यमी मेघा चौधरीलाई मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएको छ।

लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएकी चौधरीले बुधबार नेपाल सरकारका परराष्ट्र सचिवमार्फत आफ्नो आधिकारिक नियुक्ति पत्र ग्रहण गरेकी हुन्। मोरोक्कोका परराष्ट्र मामिला मन्त्री नासेर बौरिटाले पठाएको उक्त स्वीकृति पत्रसँगै चौधरीले अब काठमाडौं उपत्यका कार्यक्षेत्र रहने गरी आफ्नो जिम्मेवारी सम्हालेकी छिन्।

विशेषगरी दक्षिण एसियाली मुलुक नेपाल र उत्तर अफ्रिकी राष्ट्र मोरोक्कोबीच पर्यटन, व्यापार र सांस्कृतिक आदानप्रदानका प्रशस्त सम्भावनाहरू रहेका छन्। पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महावाणिज्यदूत चौधरीले दुवै देशको साझा हितका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिने संकल्प गरेकी छिन्।

उनले नेपाल र मोरोक्कोको द्विपक्षीय सम्बन्धलाई केवल औपचारिक दायरामा मात्र सीमित नराखी यसलाई जनस्तर र व्यापारिक समुदायसम्म पुर्‍याउन आफू सक्रिय रहने दृढता व्यक्त गरिन्।

चौधरीको व्यावसायिक अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले दुई देशबीच लगानीका नयाँ क्षेत्र पहिचान गर्न र मोरोक्कन पर्यटकहरूलाई नेपाल भित्र्याउन सघाउ पुग्ने विश्वास लिइएको छ। यस पहलले आगामी दिनमा नेपालको आर्थिक विकास र अन्तर्राष्ट्रिय प्रतिष्ठामा सकारात्मक प्रभाव पार्ने अपेक्षा पनि चौधरीको छ ।


प्रतिक्रिया दिनुहोस्