बजेट कार्यान्वयनमा असफल सरकार: आम्दानीभन्दा खर्च १ खर्ब ६१ अर्ब बढी, चुलिँदै बजेट घाटा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजेट कार्यान्वयनमा असफल सरकार: आम्दानीभन्दा खर्च १ खर्ब ६१ अर्ब बढी, चुलिँदै बजेट घाटा



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना सरकारले लक्ष्यको ५०.४९ प्रतिशत राजस्व संकलन गरेकाे छ।

महालेखा नियन्त्रक कार्यालयको फागुन ३० गतेसम्मको तथ्याङ्क अनुसार सरकारले यस अवधिमा ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले चालु वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो।

संकलित राजस्वमध्ये कर राजस्व ६ खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ रहेको छ, जुन वार्षिक लक्ष्यको ५१.०४ प्रतिशत हो। गैर–कर राजस्वतर्फ भने लक्ष्यको ४५.७८ प्रतिशत अर्थात् ७० अर्ब ६९ करोड रुपैयाँ मात्र संकलन भएको छ।

यस अवधिमा वैदेशिक अनुदानको अवस्था झनै कमजोर देखिएको छ। ५३ अर्ब ४४ करोडको लक्ष्य राखिएकोमा हालसम्म १३ अर्ब २४ करोड रुपैयाँ (२४.७८ प्रतिशत) मात्र प्राप्त भएको छ।

यता खर्चतर्फ सरकारले ८ महिनामा ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ। यो कुल वार्षिक बजेटको ४७.१८ प्रतिशत हो।

कुल खर्चमध्ये चालु (प्रशासनिक) खर्चको हिस्सा सबैभन्दा ठुलो छ। सरकारले साउनदेखि फागुनसम्म ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको ५४.३७ प्रतिशत हुन आउँछ।

विकास निर्माणका लागि छुट्याइएको पुँजीगत खर्चको अवस्था भने निकै सुस्त देखिएको छ। सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड पुँजीगत बजेट विनियोजन गरेकोमा आठ महिनामा जम्मा ७८ अर्ब ४८ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ। यो वार्षिक लक्ष्यको १९.२४ प्रतिशत मात्र हो। त्यस्तै, वित्तीय व्यवस्था ५४.८९ प्रतिशत अर्थात २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको छ।

आठ महिनाको तथ्याङ्कले सरकारको आम्दानी र खर्चबीच ठुलो खाडल देखाएको छ। सरकारको कुल प्राप्ति ७ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ हुँदा कुल खर्च ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यसरी हेर्दा फागुन मसान्तसम्म सरकार १ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ घाटामा देखिएको छ।


प्रतिक्रिया दिनुहोस्