मोरङ उद्योग व्यापार संघद्वारा २४ दिने निःशुल्क सीप स्तरोन्नति तालिम सञ्चालनमा
काठमाडौं । उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन एवं कार्यक्षमता अभिवृद्धि गराउने उद्देश्यले मोरङ उद्योग व्यापार संघले ईन्स्योर÷हेल्भेटस नेपालको सहकार्यमा आइतबारदेखि २४ दिने निःशुल्क सीप स्तरोन्नति तालिम संचालनमा ल्याएको छ ।
औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा अत्यन्त आवश्यक मानिने Heating, Ventilation and Air Conditioning (HVAC) System tyf Industrial Component/Device Repairing विषयक उक्त तालिमको आज संघमा उद्घाटन गरिएको छ।
संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सो तालिम कार्यक्रमको उद्घाटन गर्नु भई उद्योग, व्यवसाय तथा सेवा क्षेत्रको समग्र विकास, दक्ष जनशक्ति उत्पादन तथा निजी क्षेत्रको संस्थागत सुदृढीकरणका लागि संघ निरन्तर क्रियाशील रहेको बताए।
मोरङ जिल्लासहित पूर्वी नेपालमा उद्योग–व्यवसाय क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास, नीति संवाद तथा सीपमूलक जनशक्ति विकासका क्षेत्रमा संघले अग्रणी संस्थाको रुपमा कार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले उद्योग तथा प्रविधि क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस्ता सीपमूलक तालिमहरुले उद्योग तथा प्रविधिजन्य प्रतिष्ठानहरुमा कार्यरत कामदारहरुको क्षमता अभिवृद्धि गरी उत्पादनशीलता बढाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सो क्रममा उनले उद्योग÷प्रविधिजन्य प्रतिष्ठानहरुका यान्त्रिक (मेकानिकल) क्षेत्रमा कार्यरत विद्यमान कामदारहरुको दक्षता बढाउन संचालित उक्त तालिमले प्राविधिक ज्ञान र व्यवहारिक सीप मार्फत कामदारहरुको कार्यक्षमता, मर्मतसम्भार क्षमता तथा कार्यस्थलमा समग्र उत्पादनशीलता वृद्धि गरी करिडोरका उद्योग प्रतिष्ठानहरुलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरेको बताए ।
तालिम कार्यक्रमलाई ईन्स्योर ÷ हेल्भेटास नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकारी रत्न बुद्ध र ईन्स्योर परियोजना सहजीकरण ईकाई, कोशी प्रदेशकी टिभिइटी रेखा उप्रेतीले प्राविधिक संयोजन गरेकी छन् । साथै, ज्ञान अटोमेशन एण्ड कन्ट्रोल सिस्टमका प्रबन्ध निर्देशक ईन्जिनियर किरण प्रसाद मण्डल र इन्जिनियर गुल्सन कुमार मौर्याले सहजीकरण गरेको उक्त २४ दिने तालिममा विभिन्न उद्योग, अस्पताल, होटल तथा अन्य संस्थाहरुमा कार्यरत प्राविधिक कामदारहरुको उल्लेख्य सहभागिता रहेको छ ।
तालिम कार्यक्रमको उद्घाटन गर्ने क्रममा संघका वरिष्ठ उपाध्यक्ष साह सहित महासचिव संजय कुमार श्रेष्ठ, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समिति सह–संयोजक साधना झा, प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाई लगायत संघका सचिवालयका कर्मचारीहरुको सक्रीय सहभागिता रहेको थियो ।
















