बालेनको भिजन र दलको वाचाबीच ‘विज्ञ अर्थमन्त्री’को कस्तो होला अग्नीपरीक्षा ?
बालेनको नतिजामुखी ‘पपुलिज्म’ र रास्वपाको नीतिगत प्रतिवद्धतालाई सन्तुलनमा राख्दै रित्तो ढुकुटी भर्नु वाग्लेका लागि केवल अवसर मात्र होइन, एक कठोर राजनीतिक र आर्थिक अग्नीपरीक्षा समेत हो। विश्वका ३६ देशको अर्थतन्त्रको खाका कोर्ने विज्ञ हातहरूले नेपालको भुइँतहको जटिलतालाई चिर्दै जेठ १५ को बजेटमार्फत कस्तो भविष्यको मार्गचित्र कोर्लान् भन्नेमा अहिले सबैको आँखा टिकेको छ।
काठमाडौँ । गोरखाको बुङ्कोटबाट सुरु भएको एक मेधावी यात्रा आज सिंहदरबारको त्यो कुर्सीमा पुगेर ठोक्किएको छ, जहाँबाट नेपालको रित्तिँदो ढुकुटी र सुस्ताएको अर्थतन्त्रलाई पुनर्जीवन दिनुपर्ने गह्रुङ्गो जिम्मेवारी छ।
डा. स्वर्णिम वाग्ले, जसलाई नेपाली राजनीतिले एक ‘विज्ञ राजनीतिज्ञ’ का रूपमा चिन्छ, उनले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै गर्दा नेपाली बजार र नीतिगत वृत्तमा एक खालको ‘व्यवहारिक आशावाद’ सञ्चार भएको छ।
तर, यो यात्रा फूलैफूलको विच्छ्यौना चाहीँ पक्कै होइन।
सन् १९७४ मा जन्मिएका वाग्लेको बौद्धिक जग काठमाडौँको बुढानीलकण्ठ स्कूलमा बस्यो, जहाँ उनले सन् १९९० को प्रवेशिका परीक्षा (एसएलसी)मा देशभरमै दोस्रो स्थान हासिल गरे ।
लन्डन स्कूल अफ इकोनोमिक्सदेखि हार्वर्ड र अष्ट्रेलियन नेशनल युनिभर्सिटीसम्मको शैक्षिक यात्राले उनलाई विश्वविख्यात अर्थशास्त्रीहरूको सान्निध्य मात्र दिलाएन, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम जस्ता शक्तिशाली निकायहरूको नीतिगत तहमा २५ वर्षसम्म काम गर्ने अनुभव पनि प्रदान गर्यो।
विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माण अभियानमा करिब ४ अर्ब अमेरिकी डलरको सहायता जुटाउन सफल तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको नेतृत्वको टोलीमा उनी पनि एक सहयोगी थिए ।
तथापि, यो पटक वाग्लेको भूमिका विगतको भन्दा भिन्न र विशेष छ। उनी सिंहदरबारमा एक स्वतन्त्र ‘टेक्नोक्रेट’ अर्थमन्त्रीका रूपमा मात्र छिरेका छैनन्, बरु प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारको एक दह्रो खम्बा र सहयोगीका रूपमा प्रस्तुत भएका छन्।
यसको अर्थ स्पष्ट छ- अर्थतन्त्रको बागडोर सम्हाल्ने अन्तिम साँचो प्रधानमन्त्री शाहको राजनीतिक एजेन्डा र भिजनमै रहनेछ, जसमा वाग्लेले एक कुशल सारथिको भूमिका निभाउनुपर्नेछ।
बालेनको ‘पपुलिष्ट’ र नतिजामुखी कार्यशैलीलाई वाग्लेको शास्त्रीय र अन्तर्राष्ट्रिय आर्थिक सिद्धान्तसँग तालमेल मिलाउनु नै यो सरकारको पहिलो परीक्षा हुनेछ।
वाग्लेको व्यक्तित्वमा जति चमक छ, त्यति नै चुनौतीका पहाडहरू पनि छन्। उनले लामो समय न्युयोर्क, वासिङ्टन, हनोई र कोलम्बोका वातानुकूलित कार्यकक्षहरूमा बसेर विश्वका ३६ भन्दा बढी देशका लागि नीतिहरू त कोरे । तर नेपालको भुइँतहको जटिल राजनीति र यहाँको कर्मचारीतन्त्रको ‘भुलभुलैया’ मा उनी कति भिज्न सक्छन् भन्ने प्रश्न अझै जीवितै छ।
विदेशका आर्थिक मोडलहरूमा राम्रै दख्खल राख्ने वाग्लेका लागि नेपालका दुरदराजका गाउँहरूको विशिष्ट आवश्यकता र यहाँको ‘क्रोनी क्यापिटालिज्म’ (आसेपासे पूँजीवाद) लाई चिर्नु फलामको चिउरा चपाउनु सरह हुनेछ।
उनका अगाडि अहिले सेयर बजारको ओरालो यात्रा थाम्ने र पूर्वाधार विकासमा रहेका नीतिगत अवरोध हटाउने ठूलो दबाब छ। सेयर बजारका सम्बन्धमा वाग्लेले विगतमा ‘नियामकिय शुद्धीकरण’ र ‘पूँजी बजारलाई उत्पादनमूलक क्षेत्रसँग जोड्नुपर्ने’ धारणा राख्दै आएका छन्।
त्यस्तै, पूर्वाधारका हकमा उनी केवल सडक र पुल मात्र होइन, नेपाललाई चीन र भारतको विकासबाट लाभ लिने ‘हाइपर-कनेक्टेड हब’ बनाउने सपना देख्छन्। तर, के यी सपनाहरू नेपालको विद्यमान ढिलासुस्ती र नीतिगत भ्रष्टाचारको जालोभित्र सम्भव छन्?
वर्तमान अर्थतन्त्रले गम्भीर संरचनात्मक सुधारको माग गरिरहेको छ। लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउनु नै चुनौतीपूर्ण छ । त्यसमाथि आगामी ५-७ वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पुर्याएर १२ लाख रोजगारी सिर्जना गर्ने उनको दलको संकल्प पूरा गर्न समय निकै कम छ।
अबको सबैभन्दा निर्णायक मोड भनेको आगामी जेठ १५ गते आउने नयाँ बजेट हो। बालेन सरकार र अर्थमन्त्री वाग्लेले ल्याउने यो पहिलो पूर्ण बजेट नै भविष्यको नेपालको मार्गचित्र हुनेछ। के यो बजेटले परम्परागत वितरणमुखी राजनीतिलाई तोडेर वास्तविक उत्पादन र उद्यमशीलताको जग बसाल्न सक्ला?
अन्तर्राष्ट्रिय मञ्चहरूमा अब्बल साबित भएका वाग्लेका लागि स्वदेशको यो ‘अग्निपरीक्षा’ मा उत्तिर्ण हुन केवल तथ्याङ्कको ज्ञान पर्याप्त हुनेछैन। उनीमाथि एउटा गम्भीर प्रश्न सधैँ झुण्डिरहनेछ- के उनी साँच्चै नेपालको धरातलीय यथार्थ बदल्न आएका हुन् वा अन्तर्राष्ट्रिय स्तरको ‘बायोग्राफी’ मा एउटा अर्को पद थप्न मात्र?
यसको जवाफ उनले लिने नीति र आगामी बजेटको प्रभावकारिताले नै दिनेछ। उनलाई ‘शंकाको सुविधा’ त दिन सकिन्छ, तर समयले परिणाम खोजिरहेको छ।













