त्रिकोणात्मक संकटमा बीमा क्षेत्र: दाबीको बाढी, ब्याजको खडेरी र लगानीको मरुभूमि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

त्रिकोणात्मक संकटमा बीमा क्षेत्र: दाबीको बाढी, ब्याजको खडेरी र लगानीको मरुभूमि



जेनजी आन्दोलनले निम्त्याएको अर्बौँको दाबी र बैंकको घट्दो ब्याजदरबीच बीमा कम्पनीहरू इतिहासकै कठिन मोडमा उभिएका छन्। ठूला कर्पोरेट घरानाको बीमामा देखिएको जोखिम र लगानीका सीमित विकल्पले अबको रणनीतिको दिशा बदल्न बाध्य पारेको छ।

भदौको त्यो उकुसमुकुसपूर्ण समयमा जब सडकमा युवाहरूको आक्रोश पोखिएको थियो, त्यसको बाछिटा हाम्रा वित्तीय विवरणहरूमा यसरी पर्ला भन्ने हामीले सोचेका थिएनौँ।

आज फर्केर हेर्दा लाग्छ, बीमा कम्पनीहरू अहिले एउटा यस्तो त्रिकोणात्मक धरापमा छन्, जहाँबाट निस्कन निकै ठूलो कसरत आवश्यक छ।

पहिलो मार त ‘जेनजी’ आन्दोलनले नै दियो। हामीले सुरुदेखि नै उदारता देखाएर दाबी भुक्तानी सुरु गर्‍यौँ। सिद्धार्थ प्रिमियरले मात्रै उक्त आन्दोलनको प्रत्यक्ष क्षति बापत २ अर्ब २५ करोडभन्दा बढी भुक्तानी गरिसकेको छ। अझै २-३ अर्बको दाबी पाइपलाइनमा छ।

एउटा सामान्य आर्थिक वर्षमा यति ठूलो रकम केवल एउटै प्रकृतिको दाबीमा जानु भनेको कम्पनीको आन्तरिक तरलतामा ठूलो धक्का लाग्नु हो। हामीले त ‘भकारीको धान’ झिकेर बाँडे जस्तै गरी दाबी तिर्यौँ, तर त्यो भकारी फेरि भरिने संकेतहरू निकै कमजोर देखिएका छन्।

ब्याजको ओरालो यात्रा र लगानीको शून्यता

हाम्रो दोस्रो ठूलो चुनौती भनेको बैंकको घट्दो ब्याजदर हो। हामीले संकलन गरेको अर्बौँ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका हुन्छौँ। केही समयअघिसम्म १०-११ प्रतिशत ब्याज आउँदा ढुकुटी बलियो थियो। अहिले त्यो ब्याजदर घटेर एकल अंकमा खुम्चिएको छ।

ब्याज आम्दानी घट्नु र अर्कोतिर दाबी खर्च बढ्नु- यो स्पष्ट रूपमा दोहोरो मार हो।

हामीले सोचेका थियौँ कि ब्याजदर घटेपछि बजारमा कर्जाको माग बढ्छ, कलकारखाना चल्छन् र त्यसले हाम्रो बीमा व्यवसाय (प्रिमियम) बढाउँछ।

तर, विडम्बना! बजारमा कर्जाको माग नै छैन। केवल केही सेयर खेलाडीहरूले बाहेक वास्तविक उत्पादनशील क्षेत्रबाट ऋणको माग नहुँदा हाम्रो व्यवसाय पनि स्थिर रहन पुग्यो। आर्थिक क्रियाकलाप नै सुस्त भएपछि बीमा व्यवसाय कसरी तंग्रियोस्?

ठूला कर्पोरेट व्यापारबाट संकट

हाम्रो अनुभवले एउटा ठूलो पाठ सिकाएको छ- ठूला कर्पोरेट घरानाको मोहले कहिलेकाहीँ हात पोल्दो रहेछ।

हामीले वर्षौँदेखि देशका चल्तीका कर्पोरेट घराना र समूहहरूको सम्पत्ति बीमामा जोड दियौँ। तर, पछिल्लो आन्दोलनमा के देखियो भने, आक्रोशको मुख्य निशाना नै तिनै ठूला घरानाहरू बने।

राजनीतिसँग जोडिएका वा विवादित बन्दै गएका यस्ता ‘हाई प्रोफाइल’ व्यक्तिहरूको बीमा गर्दा जोखिमको विविधीकरण नहुने रहेछ। एउटै ठूलो घरानामा अर्बौँको क्षति हुँदा कम्पनीको समग्र सन्तुलन नै बिग्रने डर भयो।

त्यसैले अब हाम्रो ध्यान ठूला कर्पोरेटभन्दा पनि १०-२० लाखका साना र धेरै संख्यामा रहेका रिटेल व्यवसायतिर मोडिएको छ। साना व्यवसायमा जोखिम छरिएको हुन्छ, जसले कम्पनीलाई स्थिरता दिन्छ।

पुनर्बीमाको असहयोग

हाम्रो पीडा यतिमा मात्र सीमित छैन। हामीले दाबी त तिर्यौँ, तर हामीलाई आड दिनुपर्ने हाम्रै देशका पुनर्बीमा कम्पनीहरू नेपालका पुनर्बीमाले हात झिकिदिएका छन्। हामीले अर्बौँ प्रिमियम तिर्छौँ, तर जब हामीलाई संकट पर्छ, उनीहरूले विभिन्न बहाना बनाएर दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन्।

७ अर्बभन्दा बढीको दाबी भुक्तानी भइसक्दा रि इन्स्याेरेन्सले जम्मा २ अर्ब जति मात्र फर्स्योट गर्नु भनेको हाम्रो लागि तेस्रो र सबैभन्दा बिझाउने मार हो।

नियामक निकायले यसमा हस्तक्षेप नगर्ने हो भने बीमा कम्पनीहरूले मात्र कतिन्जेल यो बोझ थाम्न सक्लान्?

दीर्घकालीन लगानी र नयाँ ऊर्जा

अहिलेको यो सुस्ततालाई चिर्न हामीले लगानीको रणनीति परिवर्तन गर्ने निर्णय गरेका छौँ। सधैँ एक वर्षे मुद्दती निक्षेपमा मात्र भर परेर नहुने रहेछ। अब हामी आफ्नो कुल लगानीको केही हिस्सा ८-१० वर्षका दीर्घकालीन उपकरणहरूमा लगाउनेछौँ, जहाँ ब्याजदर तल-माथि हुँदा पनि निश्चित आम्दानी भइरहोस्।

त्यस्तै, जलविद्युतका प्रि-आइपीओहरूमा लगानी गरेर भविष्यमा त्यसको लाभ लिने सोचमा छौँ। अहिले हामी ढलिसकेका होइनौँ, केवल सुस्ताएका मात्र हौँ।

नयाँ सरकारले केही आर्थिक क्रियाकलाप बढाउला र बजारमा माग सिर्जना होला भन्ने झिनो आशा अझै बाँकी छ। हामीसँग अझै ७ अर्ब जतिको लगानी कोष छ, जसलाई बुद्धिमानीपूर्वक परिचालन गरेर यो कठिन समय पार गर्ने हाम्रो अठोट छ।

(सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ बैदवारसँग अर्थपथले गरेको कुराकानीका आधारमा ।)


प्रतिक्रिया दिनुहोस्