चैतको आकाशमा हिउँदको झल्को: किसानलाई राहत, सडकमा सास्ती - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

चैतको आकाशमा हिउँदको झल्को: किसानलाई राहत, सडकमा सास्ती



बदली र वर्षाले पहाडमा कृषिको आशा जगाए पनि सडक आश्रित र कामकाजी वर्गलाई भने ठिहीले पिरोल्न थालेको छ ।

काठमाडौँ । कान्तिपुरको आकाश केही दिन यता भारी बनेको थियो । साँझतिर वर्षात् हुने र विहान उघ्रिने गर्थ्यो । तर सोमबार यसको गति फेरियो । विहान ४ बजेदेखि नै वर्षात् सुरु भो । जब सहर बिउँझियो, तब मुसलधारे पानी सानो फुसफुसाहट झरीमा परिणत भइसकेको थियो ।

मध्य चैत, जहाँ जाडो बिदा भएर गर्मीको पदचाप सुनिने बेला हो, त्यहाँ एकाएक बढेको चिसोले धेरैलाई २०८० को दशकको सुरुवाती वर्षहरूमा देखिएको यस्तै बेमौसमी वर्षाको सम्झना दिलाएको छ । अझ त्योभन्दा धेरै पुरानो एउटा लोकोक्ति याद दिलायो । बाबु बाजेले भन्ने गरेको ‘चैतमा गोरु बेचेर पाखी किन्नू’ भन्ने उखान सम्झना भयो ।

हुन त यो उखानले पनि ‘चैत भनेपछि गर्मी नै हुनुपर्छ भन्ने छैन’ भनेर सिद्ध गर्छ । हाम्रा पुर्खाले यस्तै चैतको जाडो खुब भोगेका हुन् । तर, फेरि पनि उपत्यका बाहिरका ७४ जिल्लाबाट नेपाल शहर पसेका मानिसहरुका लागि काठमाडौँको यो जाडो स्वाभाविक लागिरहेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार प्रि-मनसुनको यो सक्रियताले उच्च पहाडी र हिमाली भेगमा हिमपातको श्रृंखला मात्र थपेको छैन, बरु बदलिँदो जलवायुको नयाँ पदचाप पनि संकेत गरेको छ ।

बागमती नदीको किनार र काठमाडौँका विभिन्न पुलमुनि रात काट्नेहरूका लागि यो वर्षा जीवनकै कठिन परीक्षा बनेर आयो । सिमेन्टको चिसो भुइँ र च्यातिएका पालभित्र गुटमुटिएका सडक आश्रित मानिसहरूका लागि यो झरी न त रोमान्टिक थियो, न त राहत नै ।

बिहानिको उज्यालोसँगै आफ्नो कार्यक्षेत्रमा पुग्नुपर्ने कर्मचारी र मजदुरहरूका लागि पनि यो दिन कम चुनौतीपूर्ण रहेन । कोटेश्वर र रत्नपार्कका बस बिसौनीहरूमा भिजेका छाता ओढेर गाडी पर्खिरहेका यात्रीहरूको अनुहारमा समयमै अफिस पुग्ने दबाब र चिसोको सकस प्रस्टै देखिन्थ्यो ।

काठमाडौँको भित्री गल्छीहरूमा चिसोले मानिसलाई ज्याकेट र स्वेटर निकाल्न बाध्य पारिरहँदा पहाडी भेगका किसानका आँखा भने आकाशतिरै टक्क अडिएका छन् । पहाडमा अहिले मकै छर्ने मुख्य सिजन हो ।

यो आकाशे पानी धेरैका लागि ‘सुनको वर्षा’ समान बनेको छ, जसले सुक्खा माटोलाई पुनर्जीवन दिएको छ । तर प्रकृतिको यो न्याय सबैतिर समान छैन ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनले कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको प्रक्षेपण गरिरहँदा कर्णाली र सुदूरपश्चिमका धेरै पाखाहरू अझै प्यासी छन् । एकातिर मकैको आशा र अर्कोतिर अधुरो वर्षाको चिन्ताले पहाडी अर्थतन्त्रको यो मौसमसँगको साइनो झन् पेचिलो बनाएको छ ।

आगामी दुई दिन पनि मौसमको यो लुकामारी जारी रहने निश्चित छ । मंगलबार र बुधबार कोशी र मधेश प्रदेशका केही भू-भागमा मेघगर्जन, चट्याङ्ग र असिनासहितको वर्षा हुने प्रक्षपण गरिएको छ । विशेषगरी मङ्गलबार दिउँसो पहाडी भेगमा हावाहुरी चल्ने सम्भावनाले बाली जोगाउन किसानलाई थप सचेत रहन आग्रह गरिएको छ ।

हिउँदको अन्त्यतिर यस्तो मौसमी उतारचढाव विगतका केही वर्षहरूमा पनि देखिएको थियो, जसले नेपालको कृषि क्यालेन्डरमा परिवर्तन ल्याउन थालेको विज्ञहरू बताउँछन् ।

अहिलेको यो ठिही र वर्षाले सहरका सुकिला मुकिलाहरूलाई घरभित्रै तातो कफी पिउने बहाना दिएको होला, तर खेतका आलीमा उभिएका किसान र पुलमुनि ओत खोजिरहेका निरीहहरूका लागि भने यो आकाश एउटा अनिश्चित कथा बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्