७ श्रावण २०८३, बिहिबार

कृषि, पर्यटन र एसएमईको काम गर्न पुन: सदस्यमा मेरो उम्मेदवारी : डा. गुप्ता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. सुबोध कुमार गुप्ता तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । उनी प्राय: आफ्नो चुनावी प्रचार र भोट माग्नमै व्यस्त देखिएका छन् ।

गुप्ता मोहित ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनले वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका छन् । महासंघमा दुई कार्यकाल केन्द्रीय सदस्य भएर व्यापार समिति सभापतिको जिम्मेवारी सम्हालिसकेका गुप्तासँग अबको उम्मेदवारी किन र उहाँका आगामी एजेन्डाहरू के–के छन् भन्ने विषयमा अर्थ पथले कुराकानी गरेको छ । गुप्तासँगको कुराकानीको सम्पादित अंश:

तपाईं उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदका उम्मेदवार हुनुहुन्छ । मतदाताको जानकारीका लागि तपाईंको अनुभव र अहिलेसम्मको योगदानबारे केही बताइदिनुस् न ।

मेरो निजी क्षेत्रको यात्रा दुई दशकअघि वीरगञ्ज उद्योग वाणिज्य संघबाट सुरु भएको हो । त्यहाँ म महासचिव, तीन पटक उपाध्यक्ष र अध्यक्ष भएर सेवा गरेँ । महासंघको केन्द्रिीय सदस्यको पहिलो कार्यकालमा म बैंकिङ तथा इन्स्योरेन्स कमिटीको सह–सभापति थिएँ भने हाल वाणिज्य समितिको सभापति भएर काम गरिरहेको छु ।

मैले आफ्नो कार्यकालमा केही ठोस काम गर्ने प्रयास गरेँ । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हामीले त्यहाँ एक उच्च स्तरीय सभाहल निर्माण गर्‍यौं । स्वास्थ्य क्षेत्रमा पनि हाम्रो योगदान रह्यो । पोखरिया अस्पतालमा २५ वर्षदेखि रोकिएको शल्यक्रिया सेवालाई पुनर्जीवन दिन हामीले ३५ बेडको आईसीयू निर्माण गर्‍यौं, जसको उद्घाटन वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालज्यूले गर्नुभएको थियो । कोभिडको कठिन समयमा नारायणी उपक्षेत्रीय अस्पतालमा बालबालिकाका लागि पीआईसीयू निर्माणमा पनि मेरो नेतृत्वदायी भूमिका रह्यो ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि हामीले काम गर्‍यौं । सिंगापुर उद्योग वाणिज्य संघसँग एमओयू साइन गरी त्यहाँको निजी क्षेत्रको अध्ययन गर्‍यौं र भियतनामको हो चि मिन्ह सिटीमा पनि व्यापारिक सम्बन्ध विस्तारका लागि सम्झौताहरू गर्‍यौं ।

तपाईंले बैंकिङ र वाणिज्य समितिको नेतृत्व गर्दा नीतिगत तहमा के–कस्ता काम वा सुधारका प्रयासहरू गर्नुभयो ? विशेष गरी ब्याजदर र साना व्यवसायीका समस्यामा तपाईंको भूमिका कस्तो रह्यो ?

यो निकै सान्दर्भिक प्रश्न हो । जब देशमा ब्याजदर दोहोरो अंकमा पुगेको थियो र उद्योगीहरू लगानी गर्ने वातावरण नभएर पीडामा थिए, त्यो बेला हामीले नेतृत्व लियौं । राष्ट्र बैंकको कडा मौद्रिक नीतिका विरुद्ध हामी सडकमा ओर्लिएर आन्दोलन गर्‍यौं, धर्ना दियौं । निजी क्षेत्रले गरेको त्यही विरोध र दिएका सुझावका कारण आज बजारमा ब्याजदर सस्तो भएको छ र तरलता बढेको छ ।

मैले वाणिज्य समितिको सभापति भएपछि साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेँ । हाम्रो देशको ९० प्रतिशत व्यवसाय एसएमईले ओगटेको छ । उनीहरूका लागि झन्झटिलो अनुगमन प्रक्रिया हटाउनुपर्छ भन्ने मेरो अडान छ । १० करोड मुनिको टर्नओभर हुने व्यवसायीलाई १० वटा निकायले अनुगमन गरेर मानसिक तनाव दिने काम बन्द हुनुपर्छ । यसका लागि हामीले ‘टर्नओभर ट्याक्स’ को प्रस्ताव गरेका छौं । जसमा व्यवसायीले वार्षिक एकमुष्ट रकम तिरेर ढुक्कसँग व्यापार गर्न पाउँछन् । अनुगमनका नाममा सुरुमै जरिवाना गर्ने वा थर्काउने प्रवृत्तिले व्यवसायीको मनोबल तोडेको छ । त्यसलाई सुधार्न हामी सरकारसँग लबिङ गरिरहेका छौं ।

अब तेस्रो कार्यकालका लागि तपाईंको उम्मेदवारी किन ? तपाईंका आगामी मुख्य एजेन्डाहरू के–के हुन् र मतदाताले तपाईंलाई नै किन विश्वास गर्ने ?

म यस पटक पनि वस्तुगत तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिँदैछु । मेरा मुख्य एजेन्डाहरूमा पर्यटन, कृषि, स्टार्टअप, महिला सशक्तिकरण र एनआरएन लगानी रहेका छन् । देशमा अहिले राजनीतिक स्थिरता छ र दुई तिहाईको सरकार बन्ने अवस्था छ । यो निजी क्षेत्रका लागि सुवर्ण अवसर हो ।

हाम्रो पहिलो प्राथमिकता पर्यटन हुनुपर्छ । अरू एजेन्डा छोडेर पर्यटन मात्र विकास गर्ने हो भने पनि देशको आर्थिक वृद्धिदर निकै राम्रो हुन सक्छ । विशेष गरी भारतीय पर्यटकहरूलाई लक्षित गरी हामीले काम गर्नुपर्छ । उनीहरूका लागि पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनीलाई जोडेर एउटा धार्मिक सर्किट बनाउन सकिन्छ । भारतीय पर्यटकलाई ‘गुड फिलिङ’ दिन र उनीहरूलाई नेपालका विभिन्न ठाउँमा घुमाउन सहज यातायात र उडानको व्यवस्था गर्न हामी सरकारसँग मिलेर अघि बढ्नेछौं ।

युवा पलायन र कृषिको समस्या अहिले विकराल छ । प्लस टु र ग्र्याजुएसन गर्ने बित्तिकै विदेश जाने युवाहरूलाई देशमै रोक्न तपाईंसँग के ठोस योजना छ ?

यो हाम्रो देशको सबैभन्दा ठूलो चुनौती हो । युवाहरू देशका सम्पत्ति हुन् । उनीहरूलाई देशमै व्यवस्थापन गर्न ‘स्टार्टअप’ सम्बन्धी नीति ल्याउनु आवश्यक छ । हामी सरकारसँग लबिङ गरेर स्टार्टअपका लागि भाइबल सेक्टरहरू पहिचान गर्ने र युवाहरूलाई तालिम दिने योजनामा छौं ।

सबैभन्दा महत्त्वपूर्ण कुरा पुँजीको अभावमा युवाहरू विदेशिनु नपरोस् भन्नका लागि उनीहरूको शैक्षिक प्रमाणपत्रलाई नै धितो मानेर बिना धितो सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ । एउटा पढेलेखेको व्यक्तिको प्रमाणपत्र करोडौंको सम्पत्ति हो । यसरी विश्वास गरेर ऋण दिने वातावरण बन्यो भने उनीहरू देशमै उद्यमी बन्न सक्छन् ।

यसका साथै विदेशमा रहेका एनआरएनहरूलाई नेपालमा लगानी गर्न ‘रेड कार्पेट’ लगाएर स्वागत गर्नुपर्छ । उनीहरूलाई भोटिङ राइटदेखि ‘वान विन्डो’ लाइसेन्स सिस्टमसम्मका सुविधाहरू दिएर नेपालमा उद्योग खोल्ने वातावरण बनाउनुपर्छ । महिलाहरूको उपस्थिति उद्योग र राजनीतिमा मात्र नभई निजी क्षेत्रको नेतृत्वमा पनि १०–१५ जनामा मात्र सीमित हुनुहुँदैन । उनीहरूको दायरा फराकिलो बनाउन हामी काम गर्नेछौं ।

अन्तमा, तपाईंका मतदाता र आम उद्योगी व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ? तपाईंको विजयले निजी क्षेत्रमा कस्तो परिवर्तन ल्याउला ?

सुबोध गुप्ता निजी क्षेत्रमा सबैले चिनिएको र कामबाटै परिचय बनाएको व्यक्ति हो । म यति मात्र भन्न चाहन्छु कि मैले विगतमा गरेको सेवालाई हेरेर यसपालि पनि वस्तुगतका अध्यक्षज्यूहरूले मलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनुहुनेछ । म वाचा गर्छु, आउने दिनमा म विगतमा भन्दा अझ बढी समय महासंघलाई दिनेछु । देशमा आर्थिक क्रान्ति र कृषि क्रान्ति ल्याउन, व्यवसायीका समस्या समाधान गर्न र निजी क्षेत्रको शिर सधैं उच्च राख्न म तपाईंहरूको साथमा रहनेछु ।


प्रतिक्रिया दिनुहोस्