चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै एपोलो हाइड्रोपावर
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आगामी चैत २६ गतेदेखि दोस्रो चरणको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले अब आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेकाे हाे ।
दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेको छ। इच्छुक लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ८० हजार २०० कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन्।
यो आईपीओमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्कासन प्रक्रिया छिटोमा चैत ३० गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेको खण्डमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिने समय रहनेछ।
कम्पनीले आफ्नो कुल ५७ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोही योजनाअनुसार स्थानीयका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता सेयर यसअघि नै वितरण भइसकेको छ। साथै, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सुरक्षित गरिएको सेयर पनि बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ।













