बालेन सरकारले देश सम्हाल्दा ८ महिनाको महँगी ३.६२ प्रतिशतले बढ्यो, कुनमा कति ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बालेन सरकारले देश सम्हाल्दा ८ महिनाको महँगी ३.६२ प्रतिशतले बढ्यो, कुनमा कति ? 



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह –बालेन)ले देशको बाकडोर सम्हाल्दा चालु आर्थिक वर्ष २०८२–८३ को ८ महनिा अर्थात फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.६२ प्रतिशत रहेको छ । 

आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ३.७५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ३.६० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगी ३.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महँगी क्रमश: ३.३४ प्रतिशत र ३.९७ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको औसत महँगी २.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत महँगी ४.७२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.४९ प्रतिशत, घ्यू तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ प्रतिशत र मरमसलाको२.०३ प्रतिशतलेघटेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २२.८१ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.७३ प्रतिशत, सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशतले बढेको छ । 

बीमा तथा वित्तीय सेवाहरु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०३ प्रतिशतले घटेको छ । 

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.०६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.८२ प्रतिशतले बढेको छ । 

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.९६ प्रतिशत, मधेश प्रदेशको ४.९५ प्रतिशत, बागमती प्रदेशको ३.३१ प्रतिशत, गण्डकी प्रदेशको २.८७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.२१ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.२५ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.६४ प्रतिशत, तराईको ४.११ प्रतिशत, पहाडको ३.११ प्रतिशत र हिमालको२.८३ प्रतिशत रहेको छ । 

थोक महँगी 

२०८२ फागुन महिनामा वार्षिक विन्दुगत थोक महँगी ३.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ४.४३ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक महँगी ४.४४ प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक महँगी क्रमश: ८.५४ प्रतिशत र ३.५१ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ०.२१ प्रतिशतले बढेको छ । 

नेपाल र भारतको उपभोक्ता महँगी 

२०८२ फागुन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता महँगी ३.६२ प्रतिशत रहेको छ । सन् २०२६ फ्रेबुअरी महिनामा भारतमा यस्तो महँगी ३.२१ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्