नयाँ बजेट लेख्न गठन भयो समिति, राजस्वमा जोड
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयार पार्न समिति गठन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निकै ढिला गरेर यो समिति गठन गरेका हुन् ।
सकितिको संयोजकमा उत्तरकुमार खत्रीलाई राखिएको छ भने सदस्यहरु सुमन दाहाल, धनीराम शर्मा, महेश भट्टराई र सेवन्तक पोखरेल रहेका छन् ।
खत्री अहिले अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् । सामान्यतया बजेट लेखनमा बजेट महाशाखाकै नेतृत्व हुने गरेको भए पनि यस पल्ट अर्थमन्त्रीले राजस्वलाई केन्द्रमा राखेर नयाँ बजेट तर्जुमा गर्ने तत्परता देखाएका छन् ।
भट्टराई अहिले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख छन् । बजेट तथा कार्यक्रम महाशाखाको नेतृत्व दाहालले गरिरहेका छन् । पोखरेल वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख हुन् । शर्मा चाहीँ अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख छन् ।
यो समितिले नयाँ बजेट लेखनको काम अघि बढाउने छ । यस पल्टको बजेटले दोस्रो चरणको आर्थिक सुधारलाई अघि बढाउने भनिएको छ । तर त्यसको प्रारुप कस्तो हुन्छ भन्ने चाहीँ अहिले देखिएको छैन ।
यो टोलीले तयार पारेको बजेट अर्थमन्त्री वाग्लेले आगामी जेठ १५ मा सार्वभौम संसदमा पेश गर्ने छन् ।













