बालेन सरकार आएको साता नेप्से १६८ अंकले घट्यो, किन घट्यो शेयर बजार ?
काठमाडौं । नेपाली शेयर बजारका लागि बितेको साता अर्थात चैत १० गतेदेखि १५ गतेसम्म निकै उथलपुथलपूर्ण रह्यो ।
अघिल्लो हप्ताको बिहीबार २,९५०.१९ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्त्यसम्म आइपुग्दा भारी अंकले गिरावट आएको छ । यो सतासम्म आइपुग्दा नेप्से परिसूचक २७०८.९६ विन्दुमा आयो ।
गत भदौ २३ र २४ गते भएको जेन–जी जनआन्दोलन पछि देशको राजनीतिक परिदृश्यमा आएको कडा परिवर्तन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै बजारमा तीव्र उतारचढाव देखिएको हो ।
बालेन सरकार गठन भएको २४ घण्टा पनि नबित्दै राजनीतिक वृत्तमा ठुलो हलचल भयो । शुक्रबार मात्र बालेन शाहले शपथ लिएपछि शनिबार मात्रै ’जेनजी’ आन्दोलनका समयका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता (तत्कालीन गृहमन्त्री) पक्राउ परे ।
बालेन सरकारले पनि पहिलो मन्त्रिपरिषद् बैठकले १०० बुँदे कार्यसूची जारी गर्दै २०४६ सालयताका उच्चपदस्थ कर्मचारी र राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्ने साहसिक निर्णय गर्यो । यसको प्रत्यक्ष मनोवैज्ञानिक असर शेयर बजारमा परेको देखिन्छ ।
अर्बौको गिरावट र खस्किन्दो लगानीकर्ताको मनोबल
यो साता नेप्से परिसूचक समग्रमा १६८.०१ अंकले ओरालो लागेको छ । तथ्याङ्क अनुसार साताभरमा कुल ६० अर्ब ४१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भयो। बजारमा दैनिक औसतमा ३३.६० अंकको गिरावट देखिएको छ ।
पाँच दिनको कारोबार अवधिमा कुल १४ करोड ६४ लाख ९ हजार २७४ कित्ता शेयर खरिद–बिक्री भए । बजारको आयतन र कारोबार रकम हेर्दा लगानीकर्ताहरूमा सुरुवाति दिनमा उत्साह देखिए पनि सरकारको ’सम्पत्ति छानबिन’ को कडा नीतिका कारण ठुला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा पुग्दा बजार सम्हालिन सकेन ।
साताभरमा कुल ७ लाख २० हजार २९८ पटक कारोबार भएको छ भने औसतमा दैनिक ३३७.६ वटा कम्पनीका शेयरहरू बजारमा आएका थिए ।
कुन दिन कस्तो थियो बजार ?
तथ्याङ्क अनुसार साताको पहिलो दिनदेखि नै बजार दबाबमा देखिएको थियो । शनिबार मात्र ओली र लेखक पक्राउ परेपछि आइबार बजारमा उच्च अंकको गिराव देखिएको थियो ।
आइतबार साताको पहिलो दिन नेप्से ७१.०५ अंकले घटेर २,८७९.११ विन्दुमा कायम भयो । यस दिन ३३३ कम्पनीका ३ करोड ५२ लाख कित्ता शेयर १५ अर्ब ३ करोड रुपैयाँमा कारोबार भए ।
गिरावटको क्रम सोमबार पनि जारी रहँदै बजार ४७.७१ अंकले घट्यो र परिसूचक २,८३१.३९ मा झर्यो । यस दिन ३४१ कम्पनीका ३ करोड १६ लाख कित्ता शेयर १२ अर्ब ९६ करोडमा किनबेच भए ।
मंगलबार भने बजारले केही सुधारको संकेत देखाउँदै १९.७० अंकको वृद्धि हासिल गर्यो। परिसूचक २,८५१.०९ पुग्दा ११ अर्ब ११ करोडको कारोबार भयो ।
बुधबार भने अघिल्लो दिनको सुधार टिक्न सकेन र बजार पुन: ७४.७३ अंकले भारी गिरावट भई २,७७६.३६ विन्दुमा पुग्यो । यो दिन ३४७ कम्पनीका ३ करोड २ लाख कित्ता शेयर १२ अर्ब १० करोडमा कारोबार भए ।
बिहीबार साताको अन्तिम दिन बजारमा सामान्य सुधार देखियो । नेप्से ५.८२ अंकले बढेर २,७८२.१८ विन्दुमा बन्द भयो । ८ अर्ब ८१ करोडको कारोबार भएको यस दिन ३२८ कम्पनीका २ करोड १३ लाख कित्ता शेयर कारोबार भए ।
किन घट्यो शेयर बजार ?
शेयर बजार घट्नुका पछाडि मुख्यतया राजनीतिक अस्थिरता र सरकारको कडा नीति नै प्रमुख कारण देखिएका छन् । बालेन सरकारले पदभार ग्रहण गर्नासाथ चालेको भ्रष्टाचार विरोधी कदम र पूर्वप्रधानमन्त्री तथा प्रभावशाली नेताहरूको पक्राउले लगानीकर्तामा अन्योल सिर्जना गर्यो ।
२०४६ सालयताका राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयले ’कालो धन’ शेयर बजारमा परिचालन भएको हुनसक्ने आशंकामा ठुला लगानीकर्ताहरू सशंकित भए ।
एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले गरेको सडक आन्दोलनका कारण पनि बजारमा त्रास फैलिएको थियो । यद्यपि, अहिले आन्दोलन रोकिएको अवस्था छ । जसले बिहीबार बजारलाई सामान्य हरियो बनाउन मद्दत पुर्यायो ।
वर्तमान गृहमन्त्री सुदन गुरुङले सुरक्षा र सुशासनका क्षेत्रमा देखाएको सक्रियता र ’एक्सन’ उन्मुख कार्यशैलीले बजारमा कडा नियमन हुने डर पैदा भएको छ ।
राजनीतिक शुद्धीकरणको प्रयासले दीर्घकालमा बजारलाई सकारात्मक प्रभाव पार्ने भए तापनि अल्पकालीन रूपमा लगानीकर्ताहरूमा देखिएको संशयले यो साता नेप्सेमा ठुलो पहिरो गएको विश्लेषण गरिएको छ ।













