सर्वसाधारणका लागि खुल्याे कालिन्चोक हाइड्रोपावरको आईपीओ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सर्वसाधारणका लागि खुल्याे कालिन्चोक हाइड्रोपावरको आईपीओ



काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२ गते) देखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि यो अवसर ल्याएको हो।

कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण भइसकेको छ। अब बाँकी रहेको शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सुरक्षित राखी सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन भएको यो शेयरमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ एपमार्फत सहजै आवेदन दिन सक्नेछन्।

समयसीमाको हकमा, यो निष्काशन प्रक्रिया छिटोमा २०८२ चैत २५ गतेसम्म खुला रहनेछ। यदि सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने नयाँ तथा पुराना लगानीकर्ताहरूका लागि यो एक महत्वपूर्ण अवसरको रूपमा देखिएको छ।


प्रतिक्रिया दिनुहोस्