सेयर बजारमा नकारात्मक ‘सतक’ को धक्का: नप्से १०५ अंकले घट्दा पनि १२ अर्ब माथिको कारोबार
काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा नकारात्मक ‘सतक’ को धक्का लागेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १०५.५० अंकले घटेकाे हाे ।
यसदिन ३.७९ प्रतिशतले घटेकाे सेयर बजार २६ सय ७६ दशमलव ६८ बिन्दुमा झरेकाे छ।
नेप्से भारि अंकले घटे पनि काराेबार भने बढेकाे छ। आज तीन सय ४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर एक लाख ४१ हजार ३६ पटक खरिदबिक्री हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रूपैयामा कारोबार भएको छ।
हिजाे ३२८ वटा कम्पनीका २ करोड १३ लाख कित्ता शेयर ८ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
सबै समुहकाे सेयर घटेकाेमा आज अन्य समुहकाे उपसूचक सर्वाधिक ६.०९ प्रतिशत घटेकाे छ । यस्तै हाइड्राेपावर ४.४८, विकास बैंक ४.३२, फाइनान्स ३.९४, निर्जीवन बीमा ३.८६, जीवन बीमा ३.५९, व्यापार ३.५८, माइक्राेफाइनान्स ३.४३, वाणिज्य बैंक र लगानी समुहका उपसू ३.३२ प्रतिशतले बढेकाे छ।
आज ३६१ कम्पनीकाे सेयर मूल्य घटेकाेमा ७ कम्पनीकाे सेयर मूल्य मात्र बढेकाे छ। जसमा ६ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर, फरेस्ट इनकाे सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सुपरखुदी र सुर्यकुण्ड हाइड्राे इलेक्ट्रिककाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेकाे छ।
यता नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्याेरेन्स, भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ भने सप्तकाेशी डेभलपमेन्ट बैंक, गार्डियन माइक्राे लाइफ, पियाेर र सान्भी इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशत घटेकाे छ।













