सरकारले नेता-व्यापारी पक्राउ गर्न थालेपछि आत्तिए लगानीकर्ता, लगातार घट्याे सेयर बजार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारले नेता-व्यापारी पक्राउ गर्न थालेपछि आत्तिए लगानीकर्ता, लगातार घट्याे सेयर बजार



काठमाडौं । नेपालको पुँजी बजार सधैँ नै राजनीतिक उतारचढावको ऐनाका रूपमा रहने गरेको छ । पछिल्लो समय मुलुकमा विकसित भएका राजनीतिक घटनाक्रम, सामाजिक आन्दोलन र सरकारको फेरबदलले सेयर बजारलाई निकै प्रभाव पारेको देखिन्छ ।

विशेषगरी भदौ २३ र २४ गते भएको ’जेनजी’ आन्दोलन नेपालको राजनीतिमा एउटा महत्वपूर्ण मोड थियो । उक्त आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनालाई सडकमा उतारेको थियो । आन्दोलनको राप र तापका बीच लगानीकर्ताहरूमा एउटा अन्योलको वातावरण सिर्जना भयो ।

जसको प्रत्यक्ष असर तत्कालीन समयको सेयर बजारमा देखियो । आन्दोलनपछिको अस्थिरताका कारण सेयर बजारमा गिरावट आएको थियो । जसले लगानीकर्ताको मनोबललाई केही समयका लागि कमजोर बनाइदियो ।

तर, समय सधैँ एकनास रहेन । फागुन २१ गते भएको निर्वाचनले नेपाली राजनीतिमा नयाँ समीकरण र आशाको सञ्चार गरायो । निर्वाचनको मत परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आएको ठूलो जनमत र बहुमतले बजारमा सकारात्मक ऊर्जा थप्यो ।

नयाँ र भिजन भएका शक्तिहरू सत्ताको केन्द्रमा आउँदा देशको अर्थतन्त्र र पुँजी बजारले नयाँ उचाइ लिने अपेक्षा लगानीकर्ताहरूले गरे । यही उत्साहका कारण निर्वाचन लगत्तै सेयर बजारमा उल्लेख्य वृद्धि देखियो । लगानीकर्ताहरूले रास्वपा र नयाँ पुस्ताको नेतृत्वलाई पत्याएका कारण परिसूचकमा हरियाली छायो ।

यसैबिच, बालेन शाहको नेतृत्वको प्रभाव र नयाँ सरकारको “एक्सन“ सुरु भयो । सरकारले सत्ता सम्हालेको भोलिपल्टैबाट पुराना दलका शक्तिशाली नेताहरू र विभिन्न प्रकरणमा मुछिएका व्यक्तिहरूलाई पक्राउ गर्ने र कारबाहीको दायरामा ल्याउने शृङ्खला सुरु गर्‍यो ।

यो “एक्सन“ ले एकातिर सुशासनको आशा जगायो भने अर्कोतिर ठूला व्यावसायिक घरानाहरूमा ढ्याङ्ग्रो ठोक्यो । सरकारले धमाधम कारबाहीको प्रक्रिया अगाडि बढाएपछि बजारमा एक प्रकारको त्रास र अन्योलको वातावरण फेरि सिर्जना भएको देखिन्छ ।

बालेन सरकारलाई किन पत्याएर शेयर बजारले ?
नयाँ सरकार आएपछि सेयर बजारले नयाँ रेकर्ड बनाउने धेरैको अनुमान थियो, तर वास्तविकता त्यसको विपरीत देखिएको छ । बालेन शाह सरकारले सत्ता सम्हालेपछि खुलेको पहिलो दिनमै नेप्से परिसूचक ७१ अंकले घटेको थियो । त्यसयताका दिनहरूमा पनि बजार सम्हालिन सकेन । विशेषगरी यो साताको पहिलो दिन आइतबार (चैत २२ गते) सेयर बजारमा १०५.५० अंकको ठूलो पहिरो गएको छ ।

आजको कारोबारमा नेप्से परिसूचक ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २९६० को विन्दुमा पुगेको बजार सरकार बनेपछि कुल २८४ अंकले ओरालो लागिसकेको छ ।

कारोबार रकमको हिसाबले आज १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबार दिनको ८ अर्ब ८१ करोडको तुलनामा बढी हो । बजार घट्दा कारोबार रकम बढ्नुले लगानीकर्ताहरूमा “प्यानिक सेल“ (आतंकपूर्ण बिक्री) को अवस्था रहेको सङ्केत गर्दछ ।

आजको बजारमा कुल २६१ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ । उपसमूहगत रूपमा हेर्दा ’अन्य’ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ६.०९ प्रतिशत गुमाएका छन् ।

नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट, र सप्तकोशी विकास बैंक लगायतका ७ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बजारमा देखिएको यो उच्च गिरावटले लगानीकर्ताहरू कतिसम्म त्रसित छन् भन्ने स्पष्ट पार्छ ।

ब्यापारि कारबाही र बजारको त्रास
बजार घट्नुको मुख्य कारण सरकारले सुरु गरेको शुद्धीकरण अभियानलाई मानिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानलाई तीव्र बनाएपछि त्यसको सिधा असर सेयर बजारमा देखिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल तथा उनका छोरा सुलभ अग्रवाललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनी र अन्य कम्पनीहरूको सेयर खरिद गर्दा आफ्नो बाहेक अन्य विभिन्न संस्थाको खाताबाट रकम भुक्तानी गरेको आरोप छ ।

सार्वजनिक संस्थाको पैसा व्यक्तिगत लाभका लागि सेयर बजारमा प्रयोग भएको खुलासा भएपछि बजारका ठूला लगानीकर्ताहरू र ब्रोकरहरूमा त्रास फैलिएको छ । ठूला व्यवसायीहरू नै छानबिनको दायरामा आएपछि बजारले आफ्नो लय गुमाउन पुगेको विश्लेषकहरूको ठम्याइ छ ।

किन घटिरहेको छ सेयर बजार ?
सेयर बजार निरन्तर ओरालो लाग्नुमा लगानीकर्ताहरूले विभिन्न कारण औँल्याएका छन् । यसै सन्दर्भमा सेयर लगानीकर्ता भरत रानाभाटका अनुसार बजारको यो गिरावटको मुख्य जड सरकारले थालेको कारबाहीको शृङ्खला नै हो ।

रानाभाटले भनेका छन् कि व्यापारीहरू पक्राउ पर्न थालेपछि सेयर बजारमा त्रास फैलिएको छ र ठूलो लगानी गर्नेहरू उनीहरू नै भएकाले त्यसको सिधा असर बजारमा देखिएको हो ।

बजारमा ठूलो मात्रामा सेयर होल्ड गर्ने र बजारलाई चलायमान बनाउने प्रमुख व्यवसायीहरू नै सम्पत्ति शुद्धीकरणको फन्दामा परेपछि उनीहरूले आफ्नो लगानी सुरक्षित गर्न सेयर बिक्री गर्ने वा नयाँ लगानी नगर्ने रणनीति लिँदा बजार घटेको उनको विश्लेषण छ ।

सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रम र मौद्रिक नीतिले बजारको दिशा तय गर्ने लगानीकर्ताहरूको विश्वास छ । तर, तत्कालका लागि भने बालेन सरकारको ’सुशासनको डण्डा’ बाट डराएका लगानीकर्ताहरूले सेयर बजारलाई विश्वास गरिहाल्ने वातावरण देखिएको छैन । जबसम्म राजनीतिक मुठभेडको त्रास हट्दैन र ठूला लगानीकर्ताहरूको आत्मविश्वास फर्किँदैन, तबसम्म सेयर बजारमा यस्ता उतारचढाव देखिरहने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस्