दोस्रो त्रैमासिकमा ४.०५ प्रतिशतको आर्थिक वृद्धिकाे प्रक्षेपण, कुन-कुन क्षेत्रको योगदान कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा देखिएको यो वृद्धि मुख्यतया विद्युत उत्पादन, वित्तीय क्षेत्रको निक्षेप तथा ऋण प्रवाह र पर्यटन आगमनमा भएको सुधारका कारण सम्भव भएको प्रतिवेदनमा उल्लेख छ।
अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबै क्षेत्रमा धनात्मक वृद्धिदर देखिएको छ। दोस्रो त्रैमासिकमा सबैभन्दा उत्साहजनक वृद्धि विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा देखिएको छ, जसको वृद्धिदर २२.७४ प्रतिशत रहेको छ। नयाँ आयोजनाहरूबाट विद्युत् उत्पादन बढेकाले यो उपलब्धि हासिल भएको हो। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा प्रवाहमा आएको सुधारले वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापमा १२.५१ प्रतिशतको उच्च वृद्धि देखिएको छ।
यातायातका साधनको बढ्दो प्रयोग र चहलपहलका कारण यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशतको वृद्धि भएको छ। पर्यटन आगमनमा भएको उल्लेख्य सुधारले होटल तथा रेस्टुरेन्ट सम्मिलित आवास तथा भोजन सेवा क्षेत्रमा ५.१८ प्रतिशतको वृद्धि देखिएको छ। अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादन र आयातमा भएको बढोत्तरीले ४.११ प्रतिशतको सुधार ल्याएको छ।
मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि, वन तथा मत्स्यपालन क्षेत्रको वृद्धिदर २.२१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। यस अवधिमा धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा भएको वृद्धिले यस क्षेत्रलाई सकारात्मक बनाएको हो। यस्तै, निर्माण क्षेत्रमा ४.३१ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.१६ प्रतिशतको धनात्मक वृद्धि देखिएको छ।
व्यावसायिक सेवातर्फ पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ५.३ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवामा ३.९ प्रतिशत र अन्य सेवाका क्रियाकलापमा ३.२ प्रतिशतको वृद्धि भएको छ। सूचना प्रविधिको विस्तारले सूचना तथा सञ्चार क्षेत्रमा ३.१ प्रतिशत र घरजग्गाको कारोबारमा २.७ प्रतिशतको सुधार देखिएको छ। उत्पादनमूलक उद्योग क्षेत्रमा भने २.२ प्रतिशतको सामान्य वृद्धि कायम छ।
केही क्षेत्रहरूमा भने वृद्धिको गति तुलनात्मक रूपमा सुस्त देखिएको छ। मानव स्वास्थ्य तथा सामाजिक कार्यमा १.९ प्रतिशत, शिक्षा क्षेत्रमा १.३४ प्रतिशत र सार्वजनिक प्रशासन र रक्षा क्षेत्रमा १.११ प्रतिशतको न्यून वृद्धि भएको छ। सबैभन्दा कम वृद्धि पानी आपूर्ति, ढल निकास र फोहोर व्यवस्थापन क्षेत्रमा मात्र ०.५५ प्रतिशत सीमित रहेको छ।
चालु आर्थिक वर्षकै पहिलो त्रैमासिक (साउन–असोज) को तुलनामा दोस्रो त्रैमासिकमा मौसमी प्रभाव समायोजित वृद्धिदर २.०४ प्रतिशत रहेको छ। त्रैमासिक आधारमा हेर्दा १८ मध्ये १६ वटा क्षेत्रमा सुधार देखिए पनि खानी तथा उत्खनन र निर्माण क्षेत्रमा भने अघिल्लो त्रैमासिकको तुलनामा सामान्य संकुचन देखिएको छ। त्रैमासिक आधारमा सबैभन्दा बढी सुधार यातायात तथा भण्डारण क्षेत्र (६.२० प्रतिशत) मा देखिएको छ।
विगतका वर्षहरूको तुलनामा नेपाली अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर १.० प्रतिशतले ऋणात्मक रहेकोमा त्यसपछिका त्रैमासिकहरूमा क्रमिक सुधार हुँदै यस वर्ष ४.०५ प्रतिशत पुग्नुलाई सकारात्मक मानिएको छ।
यद्यपि, धान उत्पादनमा आएको कमी र निर्माण सामग्रीको आयातमा देखिएको गिरावटले गर्दा वृद्धिदर अझ उच्च हुन नपाएको प्रतिवेदनको निष्कर्ष छ।













