छुट्ला है ! कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
चैत २२ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा इच्छुक लगानीकर्ताले आज (चैत २५ गते) बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर बिक्रीमा ल्याएको हो। कुल निष्काशनमध्ये ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहेको ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले यस आईपीओमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। यस्तै, अधिकतम सीमाका रूपमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ।













