विद्युत् क्षेत्रको ‘करेन्ट’ले ततायो अर्थतन्त्र, दोस्रो त्रैमासमा २२.७४ प्रतिशतको छलाङ
काठमाडौं । पछिल्लो समय सुस्त देखिएको मुलुकको अर्थतन्त्रलाई ऊर्जा क्षेत्रले कडा ’ब्याकअप’ दिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको प्रारम्भिक विवरण अनुसार, विद्युत् र ग्यास क्षेत्रले अकल्पनीय प्रगति हासिल गरेको छ ।
तथ्याङ्कीय विश्लेषण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) मा विद्युत्, ग्यास, वाष्प र वातानुकूलित आपूर्ति क्षेत्रको वृद्धिदर २२.७ प्रतिशत पुगेको छ ।
यो वृद्धिदर गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको (७.९ प्रतिशत) तुलनामा झन्डै तीन गुणाले बढी हो । यस क्षेत्रको यो बढोत्तरी समग्र १८ वटा औद्योगिक वर्गीकरणहरूमध्येकै उच्च हो ।
उत्पादनको आयतनमा उल्लेख्य वृद्धि केवल प्रतिशतमा मात्र होइन यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको आकार पनि निकै बढेको छ । स्थिर मूल्य (आधार वर्ष २०६७/६८) का आधारमा हेर्दा आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ११ अर्ब ५१ करोड ८० लाख रुपैयाँ बराबर रहेको यस क्षेत्रको योगदान, चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । विगत चार वर्षको तथ्याङ्कलाई हेर्दा यो क्षेत्र निरन्तर उकालो लागिरहेको देखिन्छ ।
अर्थतन्त्रको मुख्य खम्बा समग्र मुलुकको आर्थिक वृद्धिदर ४.०५ प्रतिशतमा सीमित भइरहँदा विद्युत् क्षेत्रको २२.७ प्रतिशतको वृद्धिले अर्थतन्त्रलाई मन्दीतर्फ जानबाट जोगाएको छ । धान बालीको उत्पादनमा कमी आए पनि विद्युत् उत्पादन र वितरणमा भएको सुधारले जीडीपी (न्म्ए) लाई धनात्मक राख्न मुख्य भूमिका खेलेको छ । तथ्याङ्क कार्यालयका अनुसार, मौसमी प्रभावलाई समायोजन गर्दा पनि यस क्षेत्रले अघिल्लो त्रैमासको तुलनामा ३.२ प्रतिशतको सकारात्मक वृद्धि कायम राखेको छ ।
लामो समयको तथ्याङ्कीय ट्रेन्ड (२०६७/६८ देखि २०८२/८३ सम्म) लाई हेर्दा नेपालको विद्युत् क्षेत्र अहिलेकै सबैभन्दा बलियो अवस्थामा पुगेको ग्राफले स्पष्ट पार्छ । निजी क्षेत्रको बढ्दो लगानी र ठूला जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिनु नै यसको मुख्य कारण मानिएको छ ।













