५७ अर्बको कारोबारसँगै नेप्सेमा सुखद पुनरागमन, तीव्र उतारचढावबीच ५५ अंकको छलाङ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५७ अर्बको कारोबारसँगै नेप्सेमा सुखद पुनरागमन, तीव्र उतारचढावबीच ५५ अंकको छलाङ



काठमाडौं । नेपाली पुँजी बजारका लागि यो साता निकै नाटकीय र उतारचढावपूर्ण सावित भएको छ । साताको सुरुवातमा लगानीकर्ताहरूमा देखिएको चरम निराशा र ’प्यानिक सेलिङ’ लाई चिर्दै साताको अन्त्यतिर बजारले बलियो सुधारको संकेत देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो साता करिब १८० अंकको उतारचढाव देखियो । लगानीकर्ताहरूबीच ठूलो टक्कर रहेको पुष्टि गर्दछ । समग्रमा यो साता बजारले आफ्नो वृद्धिको यात्रालाई पुन: निरन्तरता दिने प्रयास गरेको छ । जसलाई करिब ५७ अर्ब रुपैयाँ बराबरको विशाल कारोबार रकमले दरिलो साथ दिएको छ ।

पछिल्लो साताको समग्र बजार स्थितिलाई नियाल्दा नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार २,७८२.१८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा ५५.६ अंकले बढेर २,८३७.७८ विन्दुमा पुगेको छ ।

यो वृद्धिले बजारमा सकारात्मक मनोविज्ञान सञ्चार गरेको छ । साताभर कुल १२ करोड ५ लाख १७ हजार २१० कित्ता सेयर खरिद–बिक्री हुँदा ५७ अर्ब २७ करोड ७९ लाख ६९ हजार २०४ रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

दैनिक औसत कारोबार रकम ११ अर्ब ४५ करोड रुपैयाँभन्दा माथि रहनुले बजारमा तरलताको प्रवाह र लगानीकर्ताको सक्रियता उच्च रहेको देखाउँछ ।

दिनगत रूपमा बजारको विश्लेषण गर्दा साताको सुरुवात निकै चुनौतीपूर्ण रह्यो । साताको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताहरूमा ठूलो डर देखियो । जसका कारण नेप्से परिसूचक १०५.५० अंकको भारी गिरावट खेप्दै २,६७६.६८ विन्दुमा झर्न पुग्यो। उक्त दिन १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

जसले बजारमा ठूला लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोजेको र साना लगानीकर्ताहरू अत्तालिएर सेयर बेचेको संकेत गर्दछ । तर, यो गिरावट धेरै दिन टिकेन । साताको दोस्रो दिन सोमबार नै बजारमा ’भी–सेप’ रिकभरी देखियो र परिसूचक ८३.३३ अंकले बढ्दै २,७६०.०२ विन्दुमा उक्लियो ।

सोमबार १० अर्ब ९२ करोडको कारोबार हुनुले तल्लो विन्दुमा सेयर खरिद गर्नेहरूको घुइँचो लागेको पुष्टि गर्‍यो । साताको तेस्रो दिन मंगलबार भने बजारमा केही सुस्तता देखियो । जहाँ परिसूचक सामान्य २.६१ अंकले मात्र घट्यो र कारोबार रकम पनि साताकै न्यून ६ अर्ब ७३ करोडमा खुम्चियो ।

साताको मध्यपछि बजारले पुन: गति समात्न थाल्यो । बुधबार नेप्सेमा ४५.१२ अंकको बढोत्तरी देखियो र परिसूचक २,८०२.५२ को मनोवैज्ञानिक स्तरभन्दा माथि पुग्न सफल भयो । यस दिन ८ अर्ब ३१ करोडको सेयर कारोबार भयो । बिहीबार बजार थप आक्रामक देखियो र ४८.७१ अंकको वृद्धिसहित २,८५१.२४ विन्दुमा पुगेर बन्द भयो । जुन यो साताको उच्च विन्दु पनि हो ।

बिहीबार झण्डै १० अर्बको कारोबार हुनुले बजारमा खरिद चाप उच्च रहेको देखाएको थियो । तर, साताको अन्तिम दिन शुक्रबार भने नाफा सुरक्षित गर्ने होडबाजी चल्दा बजारमा सामान्य १३.४५ अंकको गिरावट देखियो र परिसूचक २,८३७.७८ विन्दुमा आएर अडियो । शुक्रबार ९ अर्ब नजिकको कारोबार हुनुले बजारमा गिरावट आउँदा पनि लगानीकर्ताको मनोबल कमजोर नभएको संकेत गर्दछ ।

सेक्टरगत रूपमा हेर्दा यो साता लगानीकर्ताको ध्यान विशेष गरी जलविद्युत, वित्त र होटल समूहमा केन्द्रित रह्यो । जलविद्युत कम्पनीहरूको सेयरमा भएको उच्च कारोबार र मूल्य वृद्धिले बजारलाई उकास्न मुख्य भूमिका खेल्यो ।

लगानीकर्ताको मनोविज्ञान यस साता निकै उतारचढावपूर्ण रह्यो । साताको सुरुमा १०५ अंकको गिरावट हुँदा बजारमा अनिश्चितता र डरको वातावरण थियो । तर पछिल्ला दिनहरूमा भएको सुधारले पुन: उत्साह भरेको छ । ठूला र संस्थागत लगानीकर्ताहरूले गिरावटलाई खरिदको अवसरका रूपमा लिएको देखिन्छ भने साना लगानीकर्ताहरू अझै पनि केही हदसम्म द्विविधामा रहेका छन् ।

बजारमा पछिल्लो समय देखिएको ठूलो कारोबार रकमले लगानीकर्ताहरू अब बजारले नयाँ उचाइ लिने कुरामा विश्वस्त हुँदै गएको आभास दिन्छ । यसले बजारमा ’बुलिस’ सेन्टिमेन्ट अझै जीवितै रहेको पुष्टि गर्दछ ।

प्राविधिक पक्षबाट विश्लेषण गर्दा नेप्से अहिले स्पष्ट रूपमा ’अपट्रेन्ड’ मा रहेको देखिन्छ । परिसूचकले २,७०० को बलियो सपोर्ट जोनलाई सम्मान गर्दै पुन: माथिल्लो यात्रा तय गरेको छ ।

२,८६० देखि २,९०० को क्षेत्र अहिलेका लागि मुख्य रेसिस्टेन्सका रूपमा देखिएको छ । यदि आगामी साता नेप्सेले २,९०० को विन्दुलाई उच्च कारोबार भोल्युमसहित पार गर्न सफल भएमा बजारले ३,००० को ऐतिहासिक विन्दुलाई पुन: पछ्याउने सम्भावना देखिन्छ ।

आगामी साताको बजारको दिशा खासगरी तरलताको अवस्था र राजनीतिक घटनाक्रमले तय गर्नेछ । बैंकहरूमा थुप्रिएको अधिक तरलता र न्यून ब्याजदरका कारण सेयर बजारका लागि वातावरण अझै अनुकूल नै छ ।

साताको अन्तिम दिन देखिएको सामान्य गिरावटले आगामी साताको सुरुका दिनहरूमा केही ’कन्सोलिडेसन’ हुन सक्ने सम्भावना देखाउँछ । तर समग्र ट्रेन्ड सकारात्मक नै रहने अपेक्षा गर्न सकिन्छ । लगानीकर्ताहरूले कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण र लाभांश क्षमतालाई आधार मानेर लगानी गर्दा जोखिम कम हुने देखिन्छ ।

यो साता नेप्सेले आफ्नो बलियो उपस्थिति र लगानीकर्ताको अटुट विश्वासलाई पुन: पुष्टि गरेको छ । सुरुवाती गिरावटलाई उछिन्दै ५५.६ अंकको साप्ताहिक बढोत्तरी र ५७ अर्बको ऐतिहासिक कारोबार हुनु बजारको स्वास्थ्यका लागि निकै सकारात्मक पक्ष हो ।

उतारचढावलाई बजारको स्वभाविक प्रक्रियाका रूपमा लिँदै संयमित भएर लगानी गर्नेहरूका लागि अहिलेको समय अवसरपूर्ण देखिएको छ । बजारमा छोटो अवधिको नाफा सुरक्षित गर्नेहरू सक्रिय भए तापनि दीर्घकालीन लगानीकर्ताहरूका लागि नेप्सेले अझै पनि सुनौलो भविष्यको संकेत गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्