झन् झन् चुलिँदै वित्तीय केन्द्रिकरण, फैलिन सकेन कर्जा
काठमाडौँ । उद्यमशिलता र कर्जामा पहूँच बढाउने भनेर सरकार एवम् केन्द्रिय बैंकले अघि सारेका तमाम प्रयासका बाबजुद उल्टै वित्तीय स्रोतको केन्द्रिकरण बढेको देखिएको छ । पछिल्ला ९ आर्थिक वर्षको विवरण हेर्दा यस्तो देखिएको हो ।
२०७३ साउनमा सबै बैंक तथा वित्तीय संस्थामा गरेर कुल १ करोड ६८ लाख निक्षेप खाताहरु थिए । त्यो संख्या गत फागुन मसान्तसम्म आउँदा ६ करोड २० लाख ६० हजार नाघेको छ । यो ९ वर्षको बीचमा मात्रै ४ करोड ५२ लाखभन्दा धेरै निक्षेप खाता खुलेका छन्, जुन २७९ प्रतिशतको बृद्धि हो ।
देशको कुल जनसंख्याको दोब्बरभन्दा पनि ज्यादा निक्षेप खाताहरु सञ्चालन हुनुले निक्षेपमाथिको नागरिकको पहूँच व्यापक मात्रामा बढेको देखाउँछ ।
चर त्यो अनुरुपमा कर्जाका खाताहरु भने स्थिरप्राय: देखिएका छन् । ९ साल अघि १० लाख ९६ हजार कर्जा खाताहरु थिए । अहिले त्यस्ता खाताको संख्या २० लाख ४० हजार पुगेको छ । यो बीचमा ९ लाख ४३ हजार थप खाताहरु खुलेका छन्, जुन दोब्बर पनि हुन नसकेको प्रमाण हो । यो अवधिमा ८६ प्रतिशतले मात्रै कर्जा खाता बढेको छ ।
यसको सीधा अर्थ त बैंकमा पैसा जम्मा गर्नेहरुको संख्या १ बाट ४ पुग्दा ऋण लिनेहरुको संख्या १ बाट २ पनि पुगेन भन्ने हो । भलै, निक्षेप खाताहरु एउटै व्यक्तिले धेरै बैंकमा खोल्ने र सबैमा कारोबार नभए पनि खाता कायम रहने भएर यस्तो देखिएको हो । कर्जा खाता भने ऋण तिरेपछि बन्द हुन्छ । त्यसैले यसको बृद्धि उल्लेख्य छैन ।
तर भूकम्प र संविधान निर्माण भएपछिको एक दशकमा देशको आर्थिक हालतमा ठूलो बदलाव आइसकेको छ । ९ वर्ष अघि वित्तीय प्रणालीमा कुल २१ खर्ब ११ अर्ब हाराहारी निक्षेप थियो । गत फाल्गुन अन्त्यसम्म निक्षेप बढेर ७७ खर्ब ८० अर्ब पुगेको थियो । गत साता त अझै बढेर ७८ खर्ब ४५ अर्ब पुगिसकेको छ । यसरी २०७३ साउनयता निक्षेप रकम २६९ प्रतिशत बढेको छ ।
तर त्यतिबेला १६ खर्ब ८२ अर्ब रहेको कर्जा अहिले बढेर ५८ खर्ब ६४ अर्ब पुगेको छ । यो भनेको २४९ प्रतिशतको बढोत्तरी हो । यसरी निक्षेप र कर्जाको विस्तारमा धेरै ठूलो अन्तर नदेखिए पनि त्यस्तो पैसा निक्षेप राख्ने र ऋण लिने मान्छेहरुको संख्यामा भने विशाल अन्तर कायम भएको छ ।
यसको मतलव सीमित मान्छेहरुले ऋण बढाउँदै गए । तर धेरै मान्छेले ऋण पाएनन् । करीब ३ करोड जनसंख्या भएको मुलुकमा जम्मा २० लाख हाराहारीमात्रै ऋण खाता हुनु भनेको मानिसहरुले कर्जाको उपयोग आम रुपमा गर्न पाएका छैनन् भन्ने पुष्टि हो ।
९ वर्ष अघि प्रति खाता औसत १५ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो भने अहिले एउटा खातामा औसत २८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । तर निक्षेपतर्फ यस्तो आँकडा छैन । ९ वर्ष अघि निक्षेप खातामा प्रति खाता १ लाख २५ हजार ६ सयभन्दा बढी जम्मा हुन्थ्यो । अहिले प्रतिखाता औसत निक्षेप १ लाख २५ हजार ३०० हाराहारी छ । यसले औसत निक्षेप स्थिर रहेको, तर औसत कर्जामा भारी बृद्धि भएको देखिन्छ ।
यो भनेको बैंकमा पैसा जम्मा गर्नेहरुको बचत खासै बढेको छैन, तर ऋण लिनेहरुको कर्जाको दायरा व्यापक फराकिलो भएको छ ।













