हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग



बागमती । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ ।

रुग्ण उद्योगहरूलाई पुन: सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुन: नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताए ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा शिवनारायण साह बताए ।

गत चैत १३ गतेदेखि उद्योगले पुन: क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुन: रोकिएकोछ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुन: उद्योग बन्द हुने निमित्त प्रमुख डा साहको भनाइ छ ।

सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।
“विद्युत् उपभोग त गरियो तर महसुल बुझाउन सकिएन”, उनले भने, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न नसकिए पनि करिब ३०/४० करोड जति बक्यौता बाँकी छ होला ।” त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उहाँको कथन छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्