९ महिनामा १७ खर्बको वैदेशिक व्यापार, आयात १३.८२ प्रतिशतले बढ्दा निर्यात कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

९ महिनामा १७ खर्बको वैदेशिक व्यापार, आयात १३.८२ प्रतिशतले बढ्दा निर्यात कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्त सम्मकाे अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढेको हो।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँको आयात भएको थियो।

त्यस्तै, निर्यात व्यापारमा पनि यस अवधिमा उत्साहजनक सुधार देखिएको छ। चैत मसान्तसम्म नेपालले २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँमा सीमित थियो।

आयात र निर्यात दुवै बढे पनि व्यापार घाटामा अझै चाप देखिएको छ। समीक्षा अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.०४ प्रतिशतले बढी हो।

तथापि, आयात–निर्यात अनुपातमा भने केही सुधार आएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ६.९६ रुपैयाँ बराबरको आयात हुने गरेकोमा यस वर्ष सो अनुपात घटेर ६.६९ रुपैयाँ कायम भएको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.५७ प्रतिशत रहेकोमा यस वर्ष बढेर १३.०१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा भने ८७.४३ प्रतिशतबाट सामान्य घटेर ८६.९९ प्रतिशतमा झरेको छ, जसले वैदेशिक व्यापारको संरचनामा केही सकारात्मक संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्