सोपान फर्मास्यूटिकल्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका
काठमाडाैं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हाे।
गत वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको यस शेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले आज वैशाख ८ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कोटाको शेयर बाँडफाँट गरिसकेको छ। कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजी रहेको यस कम्पनीले त्यसको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता, कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता शेयर यसअघि नै सुरक्षित भइसकेको छ।
अहिले दोस्रो चरणमा बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो। यसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ। लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले यो शेयर खरिद गर्न पाउनेछन्।
यो आईपीओमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
















