टक्सार पिखुवा खोला हाइड्रोपावरले वैशाख २३ देखि सर्वसाधारणका लागि आईपीओ खोल्ने
काठमाडाैं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणलाई लगानीको अवसर दिन लागेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये स्थानीयका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि ३ लाख ३ हजार ६७ कित्ता शेयर यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ।
त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५१ हजार ५३३ कित्ता र आफ्ना कर्मचारीहरूलाई ६० हजार ६१३ कित्ता शेयर छुट्याएर बाँडफाँट कार्य सम्पन्न गरिसकेको छ। अब बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको २५ लाख १५ हजार ४५५ कित्ता शेयर (कुल २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर) सर्वसाधारणका लागि उपलब्ध हुनेछ।
यस आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन प्रक्रिया छिटोमा वैशाख २८ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
















