नेपालका ३ अन्तर्राष्ट्रिय विमानस्थल: हवाई मार्गबाट हुने १ खर्ब ८३ अर्बको वैदेशिक व्यापारमा कसकाे हिस्सा कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपालका ३ अन्तर्राष्ट्रिय विमानस्थल: हवाई मार्गबाट हुने १ खर्ब ८३ अर्बको वैदेशिक व्यापारमा कसकाे हिस्सा कति ?



काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) सम्मको तथ्याङ्क अनुसार नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूमध्ये वैदेशिक व्यापारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्चस्व कायम रहेको देखिएको छ ।

समीक्षा अवधिमा मुलुकको कुल निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको छ जसमा हवाई मार्गबाट हुने निर्यातमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे हिस्सा ११.९२ प्रतिशत रहेकाे छ।

९ महिनाकाे अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरका नेपाली वस्तु निर्यात भएकाे छ।

यस्तै चैत मसान्तसम्म यस विमानस्थलबाट मात्र १ खर्ब ५७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो नेपालको कुल आयातको १०.५४ प्रतिशत हिस्सा हो ।

त्यसैगरी, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने वैदेशिक व्यापारको अवस्था भने निकै न्यून देखिएको छ। नौ महिनाको अवधिमा यस विमानस्थलबाट ४६ लाख ४ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ । निर्यातको अवस्था झनै दयनीय छ, जहाँबाट जम्मा २ हजार ९ सय रुपैयाँ बराबरको मात्र वस्तु बाहिरिएको देखिन्छ ।

यता पोखरामा सञ्चालित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने यस अवधिमा कुनै पनि व्यापारिक कारोबार भएको तथ्याङ्कमा देखिँदैन ।

नेपालका भन्सार बिन्दुहरूमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । तथ्याङ्क अनुसार वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र कुल निर्यातको ३५.६९ प्रतिशत व्यापार भएको छ । समीक्षा अवधिमा वीरगञ्ज नाकाबाट मात्र ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७९ अर्ब ५५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।


प्रतिक्रिया दिनुहोस्