स्नो रिभर्स लिमिटेडले वैशाख २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्नो रिभर्स लिमिटेडले वैशाख २९ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने



काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो।

कम्पनीले आफ्नो कुल ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। यसअघि नै स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता शेयर बाँडफाँट भइसकेको छ। त्यस्तै, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि समेत गरी कुल ६५ हजार ६२५ कित्ता शेयर छुट्याएर वितरण भइसकेको कम्पनीले जनाएको छ।

अबको दोस्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ७८ हजार १२५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस निष्काशनमार्फत कम्पनीले ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा जेठ १ गते बन्द हुनेछ भने माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ।


प्रतिक्रिया दिनुहोस्