आयात गर्ने भन्सारमा विरगञ्जको दबदबा, एक्लैले साढे ४६ प्रतिशत आयात गर्दा टप १० भित्र एपोर्टदेखि तातोपनीसम्म
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कले मुलुकको आयातमा वीरगञ्ज भन्सार कार्यालयको दबदबा कायमै रहेको देखाएको छ । यो अवधिमा नेपालले कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । निर्याततर्फ भने २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख २३ हजार ९ सय रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ । समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा निकै ठूलो रहँदा नेपालको व्यापार घाटा अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखिन्छ ।
तथ्याङ्कअनुसार वीरगञ्ज भन्सारले मात्रै कुल आयातको ४६.५६ प्रतिशत हिस्सा ओगटेको छ । यो नाकाबाट ९ महिनाको अवधिमा ६ खर्ब ९४ अर्ब ५ करोड १६ लाख २५ हजार ९ सय रुपैयाँ बराबरको सामग्री भित्रिएका छन् । वीरगञ्ज नाकाबाट निर्यात पनि उल्लेख्य नै छ । जहाँबाट ७९ अर्ब ५५ करोड ८७ लाख ५३ हजार १ सय ३० रुपैयाँ बराबरको वस्तु बाहिरिएको देखिन्छ । निर्यातको कुल हिस्सामा यस नाकाको योगदान ३५.६८ प्रतिशत रहेको छ । वीरगञ्ज नाका भारतसँगको छोटो र सुलभ पहुँच भएका कारण सधैँ नै व्यापारिक हिसाबले पहिलो प्राथमिकतामा पर्दै आएको छ ।
आयातको सूचीमा दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । भैरहवा नाका हुँदै समीक्षा अवधिमा २ खर्ब १९ अर्ब ७९ करोड ७३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको आयात भएको छ । यसले कुल आयातको १४.७४ प्रतिशत हिस्सा ओगटेको छ । निर्याततर्फ भने यो नाकाबाट २४ अर्ब ५० करोड ६३ लाख ५२ हजार ७ सय ४० रुपैयाँ बराबरको व्यापार भएको छ । जुन कुल निर्यातको १०.९९ प्रतिशत हो। लुम्बिनी क्षेत्रको मुख्य प्रवेशद्वार मानिने यो नाका औद्योगिक र व्यापारिक दुवै प्रयोजनका लागि महत्त्वपूर्ण मानिन्छ ।
विराटनगर भन्सार तेस्रो स्थानमा रहेको छ । जसले कुल आयातमा ११.८९ प्रतिशतको योगदान दिएको छ । ९ महिनामा विराटनगरबाट १ खर्ब ७७ अर्ब ३३ करोड १४ लाख ७५ हजार ९ सय रुपैयाँको आयात भएको देखिन्छ । यो नाका निर्यातका लागि भने निकै उत्साहजनक देखिएको छ । जहाँबाट ६३ अर्ब ५४ करोड ९५ लाख ६१ हजार ९ सय ७० रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । कुल निर्यातमा विराटनगरको हिस्सा २८.५० प्रतिशत रहेको छ । जुन वीरगञ्ज पछिको दोस्रो ठूलो हिस्सा हो। पूर्वी नेपालको औद्योगिक केन्द्र भएकाले विराटनगरले निर्यातमा राम्रो पकड बनाएको बुझ्न सकिन्छ ।
त्यसैगरी, हवाइ मार्गबाट हुने व्यापारको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार (टीआई एयरपोर्ट) चौथो स्थानमा छ । यहाँबाट १ खर्ब ५७ अर्ब २० करोड ३० लाख ४ हजार ५ सय रुपैयाँको आयात भएको छ । जसले १०.५४ प्रतिशत हिस्सा ओगटेको छ । निर्याततर्फ यस नाकाको हिस्सा ११.९२ प्रतिशत अर्थात् २६ अर्ब ५८ करोड ८३ लाख ५० हजार ७ सय ४० रुपैयाँ रहेको छ । बहुमूल्य वस्तु र छिटो ढुवानी गर्नुपर्ने सामग्रीका लागि यो नाका नै मुख्य आधार बनेको छ ।
पाँचौँ नम्बरमा रहेको नेपालगञ्ज भन्सारबाट ६१ अर्ब ९ करोड ५ लाख ३० हजार १२ रुपैयाँको आयात हुँदा छैठौँमा रहेको मेची भन्सारबाट ४० अर्ब ४७ करोड ७ लाख ८० हजार १८ रुपैयाँको सामान भित्रिएको छ । आयातमा नेपालगञ्जको हिस्सा ४.०९ प्रतिशत र मेचीको हिस्सा २.७१ प्रतिशत रहेको छ । मेची नाकाबाट निर्यातको अवस्था पनि तुलनात्मक रूपमा राम्रो देखिएको छ । यहाँबाट २० अर्ब ७ करोड ३५ लाख २७ हजार ६ सय ५० रुपैयाँको निर्यात भएको छ । जसले ९ प्रतिशत हिस्सा ओगटेको छ ।
चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी सातौँ स्थानमा छ । यहाँबाट ३२ अर्ब ८५ करोड ७ लाख २१ हजार ७० रुपैयाँको आयात भएको छ तर निर्यात भने शून्य देखिन्छ । जुन चिन्ताको विषय हो । यस्तै, आठौँ स्थानमा रहेको रसुवा भन्सारबाट २२ अर्ब ४० करोड ८७ लाख १६ हजार २२ रुपैयाँको आयात भएको छ । चीनतर्फका नाकाहरूबाट आयात राम्रो भए पनि निर्यातमा देखिएको शिथिलताले उत्तरी व्यापारमा असन्तुलन देखाउँछ । रसुवाबाट मात्र ४१ करोड ९४ लाख ३० हजार ४ सय रुपैयाँको निर्यात भएको छ ।
सुदूरपश्चिमको मुख्य नाका कैलाली र कपिलवस्तुको कृष्णनगर भन्सार क्रमश: नवौँ र दशौँ स्थानमा रहेका छन् । कैलालीबाट २० अर्ब १४ करोड १३ लाख ९१ हजार ३० रुपैयाँको आयात हुँदा कृष्णनगरबाट १९ अर्ब ९५ करोड १४ लाख ७७ हजार ३२ रुपैयाँको सामग्री आयात भएको छ । यी नाकाहरूको आयात हिस्सा क्रमश: १.३५ र १.३३ प्रतिशत रहेको छ । समग्रमा भन्नुपर्दा शीर्ष १० भित्र रहेका यी भन्सार नाकाहरूले नै नेपालको वैदेशिक व्यापारको मुख्य मेरुदण्डको काम गरिरहेका छन् । निर्यात प्रवद्र्धन र व्यापार विविधिकरणमा थप पहल नगर्ने हो भने व्यापार घाटाको खाडल अझै गहिरिन सक्ने देखिन्छ ।













