१० श्रावण २०८३, आइतबार

महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा चमकः नाफा ४६ कराेड कमाउँदा ब्याज आम्दानी भने १ अर्ब ६३ करोड माथि

महालक्ष्मी विकास बैंकको वित्तिय सूचकमा चमकः नाफा ४६ कराेड कमाउँदा ब्याज आम्दानी भने १ अर्ब ६३ करोड माथि



काठमाडाैं । काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्ममा महालक्ष्मी विकास बैंक लिमिटेडको खुद नाफा ५.३६ प्रतिशतले बढेको छ।

बैंकले आज सार्वजनिक गरेको चालू आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा नाफासँगै बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँबाट बढेर ६.२२ प्रतिशतले वृद्धि भई १ अर्ब ६३ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ६९ करोड ३६ लाख ७८ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६२ करोड ८१ लाख ७९ हजार रुपैयाँको तुलनामा १०.४३ प्रतिशतले बढी हो।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १० करोड ९९ लाख ७८ हजार रुपैयाँ रहेको छ। वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) १३ रुपैयाँ ५९ पैसा रहेको छ।

बैंकको खराब कर्जा भने केही बढेको देखिएको छ। गत वर्षको चैत मसान्तमा ४.९९ प्रतिशत रहेको खराब कर्जा बढेर यस वर्ष ६.५९ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३३ करोड ३० लाख ८० हजार रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा बैंकको नेटवर्थ प्रतिशेयर १६२ रुपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।

निक्षेप र कर्जा परिचालनतर्फ, तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।