सरकारी बैंकको ९ महिने रिपोर्ट कार्ड: नाफाको दौडमा नेपाल बैंक अगाडि, बाणिज्य बैंकको ’छलाङ’, कृषि विकास बैंक सुस्त !
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा सरकारी स्वामित्वका तीन बैंकहरूको उपस्थिति सधैँ चर्चाको केन्द्रमा रहने गर्दछ । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणहरू सार्वजनिक भएसँगै यी तीन सरकारी हस्तीहरू बीचको व्यावसायिक प्रतिष्पर्धा थप रोचक देखिएको छ ।
कसैले नाफामा ऐतिहासिक छलाङ मारेका छन् भने कोही ’इम्पेयरमेन्ट चार्ज’को भारीले थिचिएका छन् । समग्रमा सरकारी बैंकहरूको नाफाको ग्राफलाई नियाल्दा नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंक बीच तीव्र प्रतिस्पर्धा देखिन्छ भने कृषि विकास बैंक केही पछि परेको महसुस हुन्छ ।
नाफाको दौड र आम्दानीको ’बाहुबली’
चालू आर्थिक वर्षको ९ महिनामा शुद्ध नाफा आर्जन गर्ने मामलामा नेपाल बैंक लिमिटेड अन्य दुई बैंकलाई पछि पार्दै पहिलो स्थानमा उभिन सफल भएको छ । बैंकले चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.३४ प्रतिशतको झिनो वृद्धि मात्र हो ।
नाफाको अंकमा नेपाल बैंक अगाडि भए पनि वृद्धिको रफ्तारमा भने राष्ट्रिय बाणिज्य बैंकले सबैलाई अचम्मित पारेको छ । बाणिज्य बैंकले आफ्नो नाफामा झण्डै दोब्बरको ’उछाल’ मार्दै २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुर्याएको छ ।
जुन अघिल्लो वर्ष मात्र १ अर्ब २० करोड ४३ लाख रुपैयाँमा खुम्चिएको थियो । यो वृद्धिको मुख्य आधार भनेको बैंकको खुद ब्याज आम्दानीमा आएको सुधार हो । जुन ७ अर्बबाट बढेर ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
यता सरकारी बैंकहरूको अर्को ठूलो खम्बा कृषि विकास बैंकका लागि भने यो ९ महिना सुखद रहेन । नाफाको दौडमा यो बैंक तेस्रो स्थानमा झरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।
ब्याज आम्दानीमा १०.६९ प्रतिशतको वृद्धि भए पनि १ अर्ब ९६ करोड रुपैयाँ भन्दा बढी रकम ’इम्पेयरमेन्ट चार्ज’ (खराव कर्जा व्यवस्थापन) का लागि छुट्टाउनु परेकाले कृषि विकास बैंकको नाफामा ठूलो धक्का लागेको देखिन्छ ।
यसरी हेर्दा नाफाको अंकमा नेपाल बैंक बलियो देखिन्छ भने सुधार र वृद्धिको हिसाबले राष्ट्रिय बाणिज्य बैंकले बजारमा आफ्नो आक्रमकता देखाएको छ ।
वितरणयोग्य नाफा र शेयरधनीको भविष्य
नाफा कमाउनु एउटा पाटो हो । तर शेयरधनीहरूले हात पार्ने ’लाभांश’को आधार मानिने वितरणयोग्य नाफाको अवस्था भने यी बैंकहरूको फरक–फरक छ । नाफामा पछि परे पनि वितरणयोग्य नाफाको आधारमा कृषि विकास बैंक सबैभन्दा बलियो देखिएको छ ।
यसको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १४ लाख रुपैयाँ रहेको छ, यद्यपि यो अघिल्लो वर्षको १ अर्ब ९१ करोडको तुलनामा निकै कम हो । यसको तुलनामा नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको वितरणयोग्य नाफाको अवस्था निकै दयनीय देखिन्छ ।
नेपाल बैंकको ३२ करोड १३ लाख रुपैयाँ मात्र वितरणयोग्य मुनाफा रहेको छ भने राष्ट्रिय बाणिज्य बैंकको ३१ करोड ६१ लाख रुपैयाँ मात्र सञ्चित छ । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो कर्मचारी खर्चमा उल्लेख्य वृद्धि (३ अर्ब ९२ करोड रुपैयाँ नाघेको) गरेका कारण पनि यसको सञ्चालन मुनाफामा केही दबाब परेको देखिन्छ ।
नेपाल बैंकले भने आफ्नो सञ्चालन मुनाफामा १२.५२ प्रतिशतको वृद्धि गर्दै ४ अर्ब ८५ करोड पुर्याउनुलाई सकारात्मक मान्न सकिन्छ ।
खराब कर्जा र वित्तीय स्वास्थ्यको चुनौती
बैंकिङ व्यवसायमा नाफासँगै जोडिएर आउने अर्को महत्वपूर्ण पक्ष भनेको खराब कर्जा व्यवस्थापन हो । पछिल्लो समय समग्र बैंकिङ क्षेत्र नै यसबाट प्रताडित भइरहँदा सरकारी बैंकहरूको चित्र पनि मिश्रित छ ।
खराब कर्जा घटाउने मामलामा नेपाल बैंकले सफलता पाएको छ । जसको एनपीएल ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ । त्यसैगरी, राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो खराब कर्जा ४.६९ प्रतिशतबाट घटाएर ४.४८ प्रतिशतमा झार्दै आफ्नो वित्तीय स्वास्थ्य सुधारोन्मुख रहेको संकेत दिएको छ ।
तर, कृषि विकास बैंकका लागि भने खराब कर्जा अझै टाउको दुखाइको विषय बनेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट झिनो अंकले बढेर ५.०६ प्रतिशत पुगेको छ । यही कारणले गर्दा नै बैंकले आफ्नो आम्दानीको ठूलो हिस्सा प्रोभिजनिङ (इम्पेयरमेन्ट चार्ज) मा खर्चिनु परेको हो ।
प्रतिशेयर आम्दानी लाई हेर्दा नेपाल बैंक २५.३४ रुपैयाँ सहित बलियो अवस्थामा छ भने कृषि विकास बैंकको १०.७१ रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंकको ३.८० रुपैयाँ मात्र रहेको छ ।
राष्ट्रिय बाणिज्य बैंकले आफूलाई ’रिकभरी’ को बाटोमा द्रुत गतिमा अघि बढाएको छ भने नेपाल बैंकले आफ्नो स्थिरता कायम राख्दै नाफाको श्रीपेच पहिरिएको छ । कृषि विकास बैंकले भने आफ्नो खराव कर्जा व्यवस्थापनमा ध्यान नदिने हो भने आगामी दिनमा नाफाको ग्राफ अझै तल जान सक्ने जोखिम देखिन्छ ।
सरकारी बैंकहरूले ब्याज आम्दानीमा गरेको सुधारले समग्र अर्थतन्त्र चलायमान हुन थालेको संकेत त गरेको छ । तर खराव कर्जाको तरबार भने अझै पनि उनीहरूको टाउको माथि झुण्डिरहेकै छ ।
















