एभरेष्ट कलरको आईपीओ आजदेखि खुल्यो: वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्र भर्न मिल्ने
काठमाडौं। एभरेष्ट कलर लिमिटेडले आज बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको निश्चित हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याउँदै आजदेखि आवेदन लिन सुरु गरेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुमति बमोजिम कुल शेयरको १० प्रतिशत अर्थात् ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।
यस आईपीओमा इच्छुक आवेदकले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि बैशाख ३० गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।
















